बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

  • Kanchan News

  • शनिबार, जेष्ठ २८, २०७९

  • 94
    SHARES
बर्खा नलाग्दै लमजुङमा धान रोपाइँ सुरु

पहाडी जिल्ला लमजुङमा बर्खा नलाग्दै बर्खे धान रोपाइँ सुरु भएको छ । जिल्लामा मकै बाली भित्र्याएसँगै केही दिन अघिबाट उच्चपहाडी क्षेत्र एक हजार ६०० मिटर उचाइमा धान रोप्न सुरु गरिएको हो । चाँडै मकै पाकेका ठाउँ र पानी पर्याप्त भइसकेको ठाउँहरुमा धान रोप्न सुरु भइसकेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मदन रेग्मीले बताए । उनले भने, ‘यस वर्ष पानी परिरहेकाले अब केही दिनपछि त जिल्लाका अधिकांश ठाउँहरुमा रोपाइँ धमाधम हुनेछ ।’ मर्स्याङ्दी गाउँपालिका–५ घेर्मुफाँटमा यतिबेला धमाधम धान रोपाइँ भइरहेको छ ।

यहाँ किसानले समूह बनाएर धान रोपाइँ गरिरहेका छन् । स्थानीयवासीले घेर्मुफाँटमा जौधान, मार्सी, झिनुवा, एक्ले जातको धान लगाउने गरेका छन् । मध्यनेपाल नगरपालिकाका रिस्ती, भोर्लेटार फाँटलगायत पानी भएको ठाउँहरुमा रोपाइँ सुरु भएको छ । जिल्लाका केही ठाउँहरुमा रोपाइँका लागि तीव्र तयारी भइरहेको छ । बेँसीसहर नगरपालिका–११ रामचोकबेँसीमा रोपाइँका लागि आली ताँस्ने, भित्ता सफा गर्ने, बाजो जमिन जोत्नेलगायत कार्य भइरहेको स्थानीयवासी ईश्वर सेढाईंले बताए । उनले भने, ‘अब यी कामहरु सकेपछि यहाँका किसानले केही दिनपछि रोपाइँ सुरु गर्नेछन् ।

मर्स्याङ्दी गाउँपालिका–८ घाम्राङका बासिन्दा गमप्रसाद गुरुङका अनुसार पानी परिरहेको र अब आउने बिहीबारदेखि यहाँका स्थानीयवासीले रोपाइँ सुरु गर्न लागेका छन् । जिल्लामा ठूला–ठूला फाँटहरु रामचोकबेँसी, राइनासटार, धमिलिकुवाँ, चक्रतीर्थ, भलाखर्क, भोर्लेटार, दुईपिप्ले, सोतिपसल, परेवाडाँडा, सत्रसय, सुन्दरबजारलगायत स्थानमा चाँडै गहुँ, जौ तथा मकै पाक्ने ठाउँमा चाँडै रोपाइँ सुरु भएको उक्त केन्द्रले जनाएको छ । जिल्लाका ४५ हजार ५० हेक्टर खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टरभन्दा बढी क्षेत्रफलमा धानखेती हुँदै आएको छ । जिल्लाका किसानले सावित्री, जेठोबुढो, रामधान, सुनौलो सुगन्ध, लोकतन्त्र, एक्लेजस्ता उन्नत जातका धानलगायत मकवानपुर, गोरखनाथ, लोकनाथ, मनसुली, युएस ३१२, उपज, वर्षे तीन हजार चारलगायत हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News