
उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी खोलाको पुल निर्माणमा ढिलासुस्ती भएको छ।
पुल निर्माणको जिम्मा पाएको गल्वा रफिना जेभी कन्ट्रक्सनका प्रोपाइटर रविन जोशीको चरम ढिलासुस्तीले कागबेनी पुल ६ वर्ष बितिसक्दा समेत सम्पन्न हुन नसकेको हो।
कालिगण्डकी करिडोरअन्तर्गत निर्माणधिन उपल्लो मुस्ताङ जोड्ने कागबेनी पुल निर्माणमा ठेकेदार कम्पनीको चरम लापारवाही र ढिलासुस्तीले गर्दा बर्खायाममा उपल्लो मुस्ताङ आउजाउ गर्ने सवारी साधनलाई कागबेनी खोला तर्न निकै समस्या पर्ने गरेको छ ।
२ करोड ८८ लाख लागत रहेको कागबेनी खोला पुलको सम्झौता २०७३ साल असार ३० गते भएको थियो ।
पुलको रेलिङ र फुटपाथ बाटोसहित ११ मिटर र सवारी आउजाउ गर्ने पुलको मार्ग ७ दशमलव ५ सेमी रहेको थियो ।
सम्झौता अवधि १८ महिना रहेको निर्माणधिन पुलको सम्झौता अवधि २०७४ पुस २८ गतेसम्म थियो । कागबेनी पुलको सम्झौता अवधि सकिएर पनि त्यसयता हालसम्म पटक/पटक निर्माण कम्पनीले विभिन्न बहानाबाजी बनाएर पुलको म्याद थप गर्दै आइरहेको छ ।
कादिगण्डकी करिडोर ,बेनी–जोमसोम–कोरला सडकका आयोजना प्रमुख जगत प्रजापतीले कागबेनी खोला पुल निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको जानकारी दिए ।
उनका अनुसार कागबेनी खोला पुलको १५० मिटर एप्रोज रोड एप्रोज स्लाव निर्माण गर्न बाँकी रहेको छ । यस्तै,पुलको मुख्य स्टक्चरको काम सकिएको र पुलको दायाँबाँया रेलिङ र फुटपाथ बनाउने लगायतको काम बाँकी छन् ।
जम्मा २५ मिटर लम्बाई रहेको कागबेनी खोला पुलको दायाँबायाँ दुबैतर्फ एबुमेन्ट उठाएर सटिङ गरी ढलान गरिएको थियो ।
लामो समय निर्माण कम्पनीको ढिलासुस्तीका कारण निर्माण सम्पन्न हुन नसकेको कागबेनी खोला पुलमा एप्रोज रोड विस्तारसहित केही फिनिसिङका काम मात्र बाँकी छन् ।
तर, निर्माण कम्पनीले पुलको काम सकिने चरणमा रहेको बताए पनि कम्पनीको वेवास्ताका कारण निर्माणमा ढिलाइ भएको कागबेनी गाउँका स्थानीय बताउँछन् ।