
पोखराको लेकसाईड बाट सराङकोट सम्म सञ्चालन हुदै आएको अन्नपूर्ण केबलकारले विद्यार्थी र नवविवाहित जोडीलाई विशेष छुटको व्यवस्था गरेको छ । फेवाताल,पोखरा तथा प्राकृतिक छटाको दृश्य हेर्दै यात्रा गराउने अन्नपुर्ण केबलकारले टिकटमा विद्यार्थी र नवविवाहित जोडीलाई बिशेष छुट दिइने भएको हो ।
प्लस टु परीक्षामा सहभागी भएका विद्यार्थीले ५० प्रतिशत छुटको व्यवस्था र नवविवाहित जोडीले १ टिकट खरिदमा अर्काे टिकट सित्तैमा पाउने व्यवस्था मिलाईएको कम्पनीले जनाएको छ । विद्यार्थीको छुट पाउन यस वर्ष परीक्षामा सामेल भएको प्रवेश पत्र देखाउनुपर्ने छ भने नवविवाहित जोडीले आफ्नो विवाह कार्ड देखाउनुपर्ने छ । यो अफर विद्यार्थीहरुको लागि असार ३ र नवविवाहित जोडीको लागि असार मसान्तसम्म लागु हुनेछ ।
पोखराको अन्नपूर्ण केवलकार गत वर्ष चैत १ देखि पूर्ण रूपमा सञ्चालनमा आएको हो । केवलकारमा ८ जनाको सिट क्षमता रहेका १७ गण्डोला र सामान ओसारपसार गर्ने १ गरी १८ वटा गन्डोला जडान गरिएको छ । केवलकारको बटम स्टेसन समुन्द्री तहदेखि ८ सय २४ मिटरको उचाइमा र टप स्टेसन १ हजार ५ सय २३ मिटरमा छन् ।