घनश्याम भुसालमाथि अनुशासनको डन्डा

घनश्याम भुसालमाथि अनुशासनको डन्डा

  • Kanchan News

  • आइतवार, जेष्ठ २२, २०७९

  • 84
    SHARES
घनश्याम भुसालमाथि अनुशासनको डन्डा

अध्यक्ष केपी ओलीको आलोचना गर्दै पार्टी नीतिविपरीतका अभिव्यक्ति दिएको आरोपमा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसालमाथि कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । शुक्रबार बसेको आयोगको सचिवालय बैठकले केन्द्रीय कमिटीलाई यस्तो निर्देशन दिएको हो ।

स्थायी कमिटी सदस्य भुसालले हालै एक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा स्थानीय तह चुनावमा एमालेको कमजोर प्रदर्शनप्रति नेतृत्वका हिसाबले अध्यक्ष ओली असफल भएको भन्दै आलोचना गरेका थिए । उनले लामो समयदेखि अध्यक्ष ओलीको कार्यशैली र पार्टी सञ्चालन तौरतरिकाको आलोचना गर्दै आएका छन् ।अनुशासन आयोगका अध्यक्ष केशव बडालले टेलिभिजनमा अन्तर्वार्ता दिने एक स्थायी कमिटीका सदस्यले पार्टी नीति र निर्णयविपरीत अभिव्यक्ति दिएको पाइएकाले कारबाही प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको बताए । आयोगले भुसालका अभिव्यक्ति र पछिल्ला गतिविधिबारे ३१ जेठमा बोलाएको पूर्ण बैठकमा पनि छलफल गर्ने तयारी गरेको छ ।

‘हामीले मिडियामा सार्वजनिक गर्ने होइन, अनुशासन उल्लंघनको विषय विधानबमोजिम केन्द्रीय कमिटीलाई सिफारिस गर्ने हो । एकजना स्थायी समिति सदस्यका विषयमा टेलिभिजनमा बोलेको प्रमाणित विषय बाहिर आएको छ,’ उनले भने, ‘चित्त नबुझेका कुरा कमिटीमा राख्न पाइन्छ, बाहिर जथाभावी बोल्न पाइँदैन, पार्टी नीति र निर्णयविपरीतका गतिविधि कुनै पनि तहको नेता–कार्यकर्ताले गर्न पाउँदैन, ११ लाख पार्टी सदस्यको हकमा यही अनुशासन लागू हुने हो । त्यसकारण हामीले केन्द्रीय कमिटीलाई कारबाही प्रक्रिया अघि बढाउन लिखित रूपमा निर्देशन दिएका हौँ ।’

अन्तर्वार्तामा नेता भुसालले अध्यक्ष ओलीको प्रयोग शतप्रतिशत असफल बताएका थिए । ‘नेकपा एमाले भनेको ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएका हुन् समग्रतामा । नेतृत्वले अझ बर्बाद पार्न खोजेको थियो, तर जनताले इतिहासको हाम्रो मूल्यांकन गरे,’ पार्टीको पराजयमा ओलीको नेतृत्व असफल भएको दाबी गर्दै भुसालले भनेका थिए, ‘आज हामीले जुन मत प्राप्त गरेका छौँ, त्यो पार्टी चलाउने, चुनाव चलाउने शैलीको भोट होइन । एमालेले इतिहासमा गरेको, लडेको, कार्यकर्ताले रगत–पसिना बगाएर गरेको योगदानको मत हो ।’

अहिलेकै शैलीमा अध्यक्ष ओलीले पार्टी सञ्चालन गरे एमाले समाप्त हुन सक्ने चेतावनीसमेत नेता भुसालले दिएका थिए । ‘यही तरिका हो भने हामी भिरको नजिक–नजिक जाँदै छौँ । हामी एउटा कान्लाबाट खस्यौँ, धेरै कान्लाबाट खसेर भिरको नजिक पुगेका छौँ,’ उनको भनाइ थियो ।

पार्टीलाई सामूहिक नेतृत्व प्रणालीबाट चलाउनुपर्नेमा एकाधिकारवादबाट चलाउन खोज्दा अध्यक्ष ओलीको प्रयोग शतप्रतिशत असफल भएको भुसालको दाबी थियो । ‘म सौराहा काण्ड भन्छु । जुन परम्पराबाट एमाले बनेको थियो, त्यसविपरीत गएर एकजनालाई सर्वाधिकार दिने, उसले लिस्ट पढ्ने, त्यसलाई सबैले मान्नुपर्ने, त्यसलाई महाधिवेशन भन्नुपर्ने, सार्वभौमसत्तासम्पन्न प्रतिनिधि भन्नुपर्ने, चुनावको नाटक मञ्चन हुने अनि त्यसमा अन्तिममा फलानो–फलानोलाई भोट नदेऊ भनेर अध्यक्षले लिस्ट जारी गर्ने । जिल्ला अधिवेशनहरू पनि जसरी भए, उम्मेदवार जसरी तय भए यी सबै घटनालाई हेर्दा संक्षेपमा के भन्छु भने कमरेड ओलीको प्रयोग असफल भयो भन्ने कुरा अब हन्ड्रेड पर्सेन्ट (शतप्रतिशत) देखिएको छ,’ अन्तर्वार्तामा नेता भुसालले भनेका थिए नयाँ पत्रिकामा खबर छ ।।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News