
गोरखाको सहिदलखन गाउँपालिका–५ का गणेशनारायण श्रेष्ठसहित उनका चार परिवार सदस्य दुर्घटनाग्रस्त जहाजमा सवार रहेको स्थानीय बताउँछन्। श्रेष्ठ परिवारको नाममा टिकट काटिनु, सो जहाज चढ्नुअघि अमेरिकामा रहेका छोरा रोशनसँग सम्पर्क हुनु, त्यसपछि परिवारका सबैको मोबाइल स्वीचअफ हुनुले गाउँलेको होस उडेको छ। सञ्चार माध्यममार्फत विमान बेपत्ताको खबर सुनेपछि तीनमानेभञ्ज्याङका बासिन्दाले आइतबार घर र पसल बन्द गरे। आकस्मिक जमघट तथा विभिन्न स्तरको छलफल गरेर दिन बिताएको स्थानीय राजेश श्रेष्ठ बताउँछन्।
खबर सुन्नासाथ गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेका छन्। टोलीले घटनाका बारेमा जानकारी लिएको श्रेष्ठले बताए।
२० वर्षकी रविना र २३ वर्षकी रोजिना श्रेष्ठ दुवैजना अध्ययनको सिलसिलामा अमेरिकामा थिए। रोजिना स्नातकोत्तर र पीएचडी अध्ययनका लागि पाँच वर्षअघि अमेरिका पुगेकी थिइन्। रविना नेपालमा ए–लेभलको अध्ययन सकेर थप अध्ययनका लागि एक वर्षअघि अमेरिका गएकी थिइन्। रविना र रोजिना गत वैशाख ३० गते निर्वाचनको दिनमा काठमाडौं आइपुगेका थिए। छोरा रोशन भने अमेरिकामै थिए। छोरीहरू अमेरिकाबाट आएपछि श्रेष्ठ परिवार भ्रमण गर्न केही दिनअघि पोखरा गएका थिए। आइतबार पोखराबाट जोमसोम उडेको स्थानीय राजेश श्रेष्ठ बताउँछन्।
चिन्तामा डुब्यो धनुषाको लोटा गाउँ
तारा एयरको विमान दुर्घटनाग्रस्त भएको खबरले धनुषाको मिथिला नगरपालिका ११ लोटा गाउँका बासिन्दा चिन्तामा डुबेका छन्। यस गाउँका एकै परिवारका ७ जना सोही विमानमा सवार थिए। मुस्ताङको आकाशमा हराएको तारा एअरको ९ एन एईटी जहाज सोमबार दुर्घटनाग्रस्त अवस्थामा फेला परेपछि सिंगो गाउँ नै चिन्तामा डुबेको हो।
स्थानीय मकरबहादुर तामाङसहित श्रीमती, दिदी–भिनाजु, बहिनी–ज्वाइँ तथा भान्जा मुक्तिनाथ दर्शनका लागि यात्रामा गएका थिए। मकरबहादुरसँगै इन्द्रबहादुर गोले, पुरुषोत्तम गोले, राजन कुमार गोले, राममाया तामाङ, सुकुमाया तामाङ र तुलसादेवी तामाङको भौतिक अवस्थाबारे जानकारी नआएकाले परिवारमा आइतबार रुवाबासी चल्यो।
को को थिए जहाजमा ?
- जहाजमा सवार चालक दलका सदस्य
- क्याप्टेन प्रभाकर घिमिरे
- को–पाइलट उत्सव पोखरेल
- एयर होस्टेज क्रिष्टी थापा
- जहाजमा सवार यात्रु बान्देकर वैसवी
- इन्द्रबहादुर गोले
- पुरुषोत्ताम गोले
- राजनकुमार गोले
- मेइक ग्रिटग्राफ
- बसन्त लामा
- गणेश नारायण श्रेष्ठ
- रविना श्रेष्ठ
- रश्मी श्रेष्ठ
- रोजिना श्रेष्ठ
- प्रकाश सुनुवार
- मकरबहादुर तामाङ
- राममाया तामाङ
- सुकुमाया तामाङ
- तुलसादेवी तामाङ
- अशोककुमार त्रिपाठी
- धनुश त्रिपाठी
- ऋतिका त्रिपाठी