गण्डकी प्रदेश सरकारको बजेट अधिवेशन सुरु भएको छ । प्रदेश सरकारको बजेट अधिवेशनमा बोल्दै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश सरकारले नेपाल सरकारका इकाईहरुलाई सिधै बजेट अख्तियारी दिई कामकाज गराउन निकै कठिनाइ भएको बताउनुभयो । उहाँले संघीय निजामती सेवा ऐन नआउँदा प्रदेश निजामती सेवा ऐन तर्जुमा गर्न नसकिएको, प्रदेश सरकारको आम्दानीको स्रोत न्यून रहेकोले स्रोत व्यवस्थापन गर्न कठिनाई भएको ,ठूला आयोजनाहरु प्रदेशको मातहतमा आए पनि त्यसका लागि बजेट नआएको, स्रोत सुनिश्चित भएर काम भइसकेका बहुवर्षे योजनाको समेत रकम भुक्तानी हुन नसकेका बताउनुभयो ।
एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघिय सरकारले प्रदेशमा फेरी पनि बजेट कम दिन लागेको बताउदै विकास बजेट कम दिएर प्रदेश सरकारले जनताको आकांक्षा पूुरा गर्न नसक्ने बताउनुभयो । उहाँले सत्ता गठबन्धन विकास निर्माणको लागि नभएको भन्दै सरकाराको विकास निर्माणमा भन्दा सत्ता टिकाउनमा मात्र ध्यान गएको बताउनुभयो । गुरुङले प्रदेश सरकारलाई बजेट तथा अख्तियारी कम दिएर संघियता बलियो हुन नसक्ने धारणा राख्नुभयो ।