
पोखरा महानगरपालिकाका नव निर्वाचित मेयर धनराज आचार्यले सपथ ग्रहण गर्नुभएको छ । पोखरा सभागृहमा आयोजित कार्यक्रममा उहाँलाई सपथ गराइएको हो । गण्डकी प्रदेशका मुख्य मन्त्री कृष्णचन्द्र नेपाली पोखरेलेको उपस्थितिमा मुख्य निर्वाचत अधिकृत श्रीकृष्ण भट्टराईले मेयर आचार्यलाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो । आचार्यले उपप्रमुख मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष र सदस्यहरुलाई ग्रहण गराउनु भएकाे हाे ।
कार्यक्रममा बोल्दै पोखरा महानगरका प्रमुख आचार्यले सबैले हेर्न चाहेको पोखरा बनाउन लागि पर्ने बताउनु भयो । ‘हिजो हामी आ—आफ्नो पार्टीबाट निर्वाचित भएर आयौं आजबाट सबैको साझा बनेका छौं,’ उहाँले भन्नुभयो, ‘मबाट माथि उठेर हामी भएर हाम्रा काम अगाडि बढाउने छौं ।’
सुन्दर पोखरालाई सबैले हेर्न चाहेको बनाउनका लागि हामी निमित्त मात्र भएको बताउँदै यस कार्यमा सबैको साथ र सहयोग रहने विश्वास आचार्यको छ । ‘हामीले गर्ने सकारात्मक काममा मिडियाको साथ र सहयोग रहने छ’,उहाँले भन्नुभयो,‘ कहीँ कतै जानेर वा नजानेर कुनै कमजोरी भएमा तपाईंहरुले खबरदारी गर्नुहोला, हामी सबैको प्रण ‘पोखरा मिस ।’
कार्यक्रममा पोखरा महानगरपालिकामा निर्वाचित प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै निर्वाचनमा खटिने सुरक्षा निकाय, कर्मचारी लगायतलाई प्रशंसापत्र प्रदान गरिउको थियो ।
एकीकृत समाजवादीका आचार्य ५८ हजार ८ सय ९३ मत र एमालेका गुरुङ ६० हजार ५ सय ४६ मत ल्याएर निर्वाचित भएका हुनु भएको हो । पोखरा महानगरपालिकाका प्रमुखमा निर्वाचित धनराज आचार्यले आज नै जिम्मेवारी सम्हाल्ने हुनु भएको छ । उहाँले पोखरा सभागृहमा सपथ ग्रहण गरेपछि पदभार ग्रहण गर्ने कार्यक्रम छ । आचार्यले सपथ लिएपछि पोखरा ७ मा रहेको पुष्पलाल पार्कमा पुगेर कम्युस्टि पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको शालिकमा माल्यार्पण गर्ने र सडकको डिभाइडरमा बिरुवा रोपछि महानगर पुगेर पदभार ग्रहण गर्नुहुनेछ ।