पोखरामा म्याद गुर्जेको सामान बिक्री गर्ने स्टोर्सलाई एक लाख जरिवाना

पोखरामा म्याद गुर्जेको सामान बिक्री गर्ने स्टोर्सलाई एक लाख जरिवाना

  • Kanchan News

  • बिहिबार, जेष्ठ १२, २०७९

  • 91
    SHARES
पोखरामा म्याद गुर्जेको सामान बिक्री गर्ने स्टोर्सलाई एक लाख जरिवाना

कास्कीको पोखरास्थित चिप्लेढुंगामा रहेको भगिरथ स्टोर्सले म्याद गुर्जेको सामान बिक्री वितरण गरेको पाइएपछि बजार अनुगमन समितिले एक लाख रुपैयाँ जरिवाना गरेको छ । म्याद गुज्रेका सामान नष्ट गर्दै म्याद गुज्रे नगुज्रेका सामान तत्काल छुट्याउन र विवरण पेस गर्न समितिले निर्देशन दिएको अनुगमनमा सहभागी उपभोक्ता मञ्च समिति कास्कीका उपाध्यक्ष मिलन तिवारीले जानकारी दिए ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजाल नेतृत्वको अनुगमन टोलीले बुधबार अनुगमन गर्दा उपभोग्य मिति सकिएका खाद्यान्न सामग्री र म्याद रहेको सामग्री एकै ठाउँमा राखेर बेचेको पाइएपछि जरिवाना गरेको हो । उक्त स्टोर्सले तीन वर्षदेखि पसल नवीकरणसमेत नगरेको पाइएको रिजालले जानकारी दिए ।

ad
अनुगमनका क्रममा उपभोक्तालाई असर गर्ने गरी उपभोक्ता हितविपरीतको कार्य गरेमा अवस्था हेरी तीन लाख रुपैयाँसम्म ठाउँको ठाउँ कारबाही गर्ने अधिकार अनगुमन समितिलाई रहेको उनले बताए । उक्त पसलले उपभोक्ता हितविपरीत काम गरेकाले पसल सिल नै गर्नुपर्ने भए पनि अत्यावश्यक सामग्रीको पसल भएकाले एकपटकलाई सिल नगरी एक लाख रुपैयाँ जरिवाना गरेर सुधार्ने मौका दिएको उनले बताए ।

माउन्टेन डिउ, मिरिन्डा, सुजी, केराउ, खानेतेललगायत विभिन्न म्याद गुज्रेका सामान जफत गरी नष्ट गरिएको छ । उक्त पसलमा मूल्यसूची नराखिएको, लेबलिङ नगरिएका सामान बेचेको पाइएको थियो । निर्वाचनका बेला बजारमा म्याद गुज्रेका सामानको बिक्री भइरहेको र अस्वभाविक मूल्य लिइएका जस्ता गुनासा आएपछि अनुगमनको कामलाई निरन्तरता दिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नवराज बरालले जानकारी दिए ।

निर्वाचनमा केही व्यस्त हुनुपरेकाले बजार अनुगमन प्रभावित भए पनि अब अनुगमनलाई निरन्तरता दिने उनले बताए । बजार अनुगमनमा सहायक प्रमुख जिल्ला अधिकारी रिजाल, प्रशासकीय अधिकृत बराल, खाद्य तथा गुण नियन्त्रण कार्यालय कास्कीकी पूर्णकला थापा, उपभोक्त मञ्च कास्कीका उपाध्यक्ष मिलन तिवारीलगायत नेपाल प्रहरी, खाद्य निरीक्षण कार्यालयका प्रतिनिधिको उपस्थिति थियो ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News