नौ महिना लामो संसद अवरोध हट्यो,८ अध्यादेश पेश

नौ महिना लामो संसद अवरोध हट्यो,८ अध्यादेश पेश

  • Kanchan News

  • मङ्लबार, जेष्ठ ३, २०७९

  • 70
    SHARES
नौ महिना लामो संसद अवरोध हट्यो,८ अध्यादेश पेश

नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले स्थानीय तहको निर्वाचनमा सत्ताको दुरुपयोग भएको बताएका छन् । नौ महिना लामो संसद अवरोध हटाएको जानकारी दिने क्रममा मंगलबार प्रतिनिधिसभा बैठकमा ज्ञवालीले सत्ता गठबन्धनले निष्पक्ष निर्वाचन नगराएको बताए ।

‘स्वस्थ र मर्यादित प्रतिस्पर्धाबाट यदि हामी योभन्दा कमजोर हुनुपर्छ भने पनि तयार छौं । आत्मसमीक्षा गर्न तयार छौं । तर सत्ताको दुरुपयोग भएको छ,’ ज्ञवालीले भने । चौतर्फी घेराबन्दी चिरेर भए एमालेले सत्ता गठबन्धनको उद्देश्य पूरा हुन नदिएको बताए ।

प्रतिनिधिसभाको ११ औँ बजेट अधिवेशन आजदेखि सुरु भएको छ । आजको बैठकमा विभिन्न ८ वटा अध्यादेश पेश भएका छन् ।

बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ पेश गर्नुभएको छ ।

यसैगरी बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले औषधी (तेस्रो संशोधन) अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ पेश गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ पेश गर्नुभयो ।

यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला)ले फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८, र यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ पेश गर्नुभएको छ ।

बैठकमा सांसद पुष्पा भुसाल (गौतम) ले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १४२ को उपनियम (४) लाई निलम्बन गरियोस् भनी प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख सापकोटाले घोषणा गर्नुभयो ।

यसैगरी आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्नुभयो ।

प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री शर्माले आगामी बजेट सन्तुलित र समावेशी हुने बताउनुभयो ।

मन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० मा आर्थिक विकास ५ दशमलव ८४ प्रतिशत हासिल हुने बत्ताउनुहुँदै उत्पादनशील क्षेत्रमा लगानी गरी तीव्र आर्थिक विकास गर्ने सरकारको अठोट रहेको उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले आगामी बजेट १५ औँ योजना, संविधान, दिगो विकासका लक्ष्य, निरपेक्ष गरिबीको मारमा परेका समूह, आम जनताको आकांक्षलाई सम्बोधन गर्ने गरी ल्याइने भन्नुहुँदै सङ्घीय शासन प्रणालीको आधारभूत मूल्य र मान्यता परिधिभित्र रही सहकारिता, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा स्थानीय तहलाई थप जिम्मेवार र प्रभावकारी बनाइने बताउनुभयो ।

अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर बाहेकका) सम्बन्धी प्रस्तावको यही जेठ ४ र ५ गते छलफल हुने सभामुख अग्नि सापकोटाले जानकारी दिनुभयो ।

यसअघि निरन्तर अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मुलुकमा बढ्दै गएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै संसद्मा विरोधको स्वरूप परिवर्तन गर्ने जनाएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले देशमा मंहगी धेरै बढेको भन्दै मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशातिर लैजान संसद् सुचारु गर्नुपर्ने भएकाले विरोधको स्वरूप परिवर्तन गरेको बताउनुभयो ।

उपमहासचिव ज्ञवालीले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा सम्पन्न भएको भन्दै निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सुदृढ गरेको पनि बताउनुभयो ।

आजको बैठकको सुरुमा सभामुख अग्नि प्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्र र मन्त्रिपरिषद् गठन सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।

बैठकले नेपाली काँग्रेसबाट वि.सं. २०४८ र २०५१ सालको संसदीय निर्वाचनमा कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ बाट निर्वाचित सदस्य विष्णुराज आचार्यको ७४ वर्षको उमेरमा वैशाख १० गते भएको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि दिनको १ बजे बस्नेछ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News