राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

  • Kanchan News

  • मङ्लबार, बैशाख २७, २०७९

  • 79
    SHARES
राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदै छ ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा उल्लेख छ ।

मौन अवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेल सम्मको अवधि हो । स्थानीय तह निर्वाचनका लागि मङ्गलवार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । निर्वाचन आयोगले पालिकाका प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य चुन्न मतदान सुरु हुनु ४८ घण्टा अघिदेखि मौन अवधि तोकेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मौन अवधिमा भौतिक वा अभौतिक कुनै पनि ढङ्गले निर्वाचन प्रचार प्रसार गर्न नपाइने बताउनुभयो ।

मौन अवधिका लागि जारी गरिएका निर्देशन पालना भए/नभएको निगरानी, नियमन र अनुगमन गर्न र आवश्यक परे उल्लङ्घन कर्तामाथि कारबाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई विशेष परिपत्र मार्फत अधिकार प्रत्यायोजन गरिएको आयोगले जनाएको छ ।

विश्वका सबै लोकतान्त्रिक मुलुकमा निर्वाचन अघि मौन अवधि कायम गर्ने गरिएको र मौन अवधिमा मतदाताले कसलाई मतदान दिने भन्ने निर्क्योल गर्ने र आयोगलाई यो अवधिमा व्यवस्थापकीय कार्य गर्न सहज हुने पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको भनाइ छ ।

मौन अवधिभर दल, तिनका भ्रातृ सङ्गठन, उम्मेदवार, सङ्घ सङ्गठन लगायतले राजनीतिक प्रचार, भेला/गोष्ठी आयोजना गर्न नपाउने आयोगको आचरण निर्देशिकामा उल्लेख छ ।

मतदाता प्रभावित पार्न दल तथा उम्मेदवारको निर्वाचन चिह्न, झन्डा वा कुनै सङ्केत अङ्कित कपडा, टिसर्ट, ज्याकेट, गम्छा, टोपी वा क्याप भेस्ट, लोगो, म्याच, मास्क, स्टिकर लगाउन वा झोला बोक्न निर्देशिकाले रोक लगाइएको छ ।

मौन अवधिमा मतदाता प्रभावित पार्ने गतिविधि गरे उम्मेदवारी रद्ददेखि १ लाख रुपैयाँ जरिवानासम्मको कारबाही हुन सक्ने आयोगले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News