
स्थानीय तहको चुनावी प्रचारका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा देश दौडाहामा निस्किने भएका छन् ।
कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले बुधबारदेखि २६ वैशाखसम्म देउवा सहभागी हुने कार्यक्रम सार्वजनिक गरेको छ । कांग्रेसले २१ गते विराटनगर, २२ गते चितवनको भरतपुर, २३ गते काठमाडौं, २४ गते बुटवल, २४ गते तनहुँको दमौली र धनुषाको जनकपुरमा चुनावी सभाको आयोजना गरेको छ । २५ गते पोखरा र तुलसीपुर, २६ गते कैलालीको धनगढीमा र २७ वैशाखमा डडेलधुरामा चुनावी सभा आयोजना गरेको छ ।सबै चुनावी सभामा अरु नेताहरुसँगै प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा पनि जाने छन् ।यससँगै प्रधानमन्त्री आफैं अमूक दलका लागि भोट माग्दै चुनावी सभाहरुमा सहभागी हुन निर्वाचन आचारसंहिताले रोक्छ कि रोक्दैन ? भन्ने प्रश्न उब्जिएको छ ।प्रधानमन्त्री, संघीय मन्त्री, संघीय सांसद, मुख्यमन्त्री, प्रदेश मन्त्री, प्रदेश सांसद, संवैधानिक निकायमा पदाधिकारी र सदस्य, सरकारी संघ संस्थामा कार्यरत कर्मचारी, गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारीहरुलाई निर्वाचन आचारसंहिता लाग्छ ।
उनीहरु कुनै पनि राजनीतिक दल र उम्मेदवारको पक्षमा लागे आचारसंहिता उल्लंघन भएको मानिने निर्वाचन आचारसंहितामा उल्लेख छ ।