
लमजुङकाे मर्स्याङ्दी गाउँपालिका– ६ बाहुनडाँडाको चिसापानी सामुदायिक वनमा शनिबार दिउँसोबाट लागेको आगो अझै नियन्त्रणमा आएको छैन । मर्स्याङ्दी नदीनजिकैको तातोपानी कुण्ड माथिबाट चिसापानी सामुदायिक वनमा शनिबार दिउँसो साढे २ बजेबाट आगो लागेको जानकारी आएको चिसापानी सामुदायिक वनका अध्यक्ष पारू कतिलाले बताइन् ।
वनमा भीषण आगलागी भएकाले र हावा चलिरहेकाले आगो नियन्त्रण गर्न कठिन भएको उनको भनाइ छ । आगो नियन्त्रणका लागि आइतबार स्थानीयले अग्निरेखा कोरेर आगो नियन्त्रण गर्ने प्रयास गरे पनि आगोको मुस्लो ठूलो भएकाले आगो नियन्त्रण गर्न सफल नभएको उनले बताइन् ।
वनको करिब आधाजति भागमा आगो फैलिसकेको वडाध्यक्ष लीलाप्रसाद घलेले बताए । उनका अनुसार बस्तीभन्दा टाढा आगलागी भए पनि नागरिकलाई सचेत रहन अनुरोध गरिएको छ । चिसापानी सामुदायिक वनसँगै बाहुनडाँडा र ठूलीबेंसीबीचको मौवाघारी वनमा पनि आगालागी भएको उनले बताए ।