पोखरा- प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायातमन्त्रीहरुले केन्द्र सरकार अधिकारको सवालमा अनुदार भएको आरोप लगाएका छन् । उनीहरुले केन्द्रकै कारण देशको समग्र भौतिक निर्माण, सहरी विकास र यातायात क्षेत्र अस्तव्यस्त बनेको जिकिर पनि गरेका छन् ।
यातायातसम्बन्धी प्रदेश र संघ सरकारबीच रहेको समस्या समाधान गर्न पोखरामा मंगलबारबाट सुरु भएको मन्त्रीहरुको भेलामा उनीहरुले त्यस्तो आरोप लगाएका हुन् । भेलाको गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले उद्घाटन गरेका थिए । भेलामा मधेशबाहेकका भौतिक पूर्वाधार,सहरी विकास तथा यातायातमन्त्रीहरु सहभागी छन् । गण्डकीका भौतिक पूर्वाधार,सहरी विकास तथा यातायातमन्त्री कुमार खड्का सहभागी छन् ।
सो अवसरमा बोल्दै गण्डकीका भौतिकमन्त्री खड्काले मन्त्रालयमा समस्या व्यापक रहेका र समाधान नहुँर्द संघीयता सवल हुने गरी जनतालाई सेवा डेलिभर गर्न नसकेको बताए । ‘हामीले दिएका सेवा लाजलाग्दा छन् । यातायात व्यवस्था विभागलाई दोष देखाएर उम्किने भन्दा पनि सरसल्लाह गर्ने, बाध्यता बुझेर निष्कर्ष निकालौं’,उनले भने,‘ जसले प्रदेश सरकारप्रति लगाव महशुस गरुन् भन्ने चाहना हो ।’
उनले केन्द्रले अधिकार दिएन भन्नेभन्दा पनि भेला समस्या समाधानमा केन्द्रीत रहेको जिकिर गरे । बुधबार सबै प्रदेशका सचिवहरुको प्रस्तुतिपछिसाझा अवधारणा बनाइने उनले बताए ।‘साझा निर्णयलाई पोखरा घोषणापत्र वा जे भने पनि पूर्वाधारको क्षेत्रमा के गर्ने सहरी विकासमा के गर्ने र यातायातको क्षेत्रमा के गर्ने भन्ने महत्वपूर्ण निर्णय हुन्छ’,उनले भने ।
यसअघि पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले पोखरामा मुख्यमन्त्रीहरुको भेला गरेको थियो । सो भेलाले पोखरा घोषणापत्र जारी गर्दै केन्द्रले अधिकार नदिएको ठहर गरेको थियो । सो ठहरपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली यहाँका मुख्यमन्त्रीसँग असन्तुष्ट बनेका थिए ।