
पर्वत । पर्वतमा आजबाट १३औँ चरणमा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाउन सुरु भएको छ ।
एक हप्तासम्म सञ्चालन हुने अभियानका लागि औषधी खानेहरूको औषधी सेवन परिचय पत्र बनाउन थालिएको छ ।
औषधी लिएर जाने तर नखाने कारण औषधी सेवन कार्यक्रम प्रभावकारी नभएपछि औषधी खानेहरूको औषधी सेवन कार्ड बनाउन थालिएको हो ।
स्वास्थ्य कार्यालयका प्रमुख सन्तोष पौडेलले अब १४औँ चरणमा औषधी सेवन गर्नु नपर्ने अपेक्षाका साथ औषधी खुवाउने अभियान चलाइएको बताउनुभयो ।
जिल्लाको कुश्मा नगरपालिका–१ पाङ हात्तीपाइले प्रभावित क्षेत्र हो ।
गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव श्रीराम तिवारीको उपस्थितिमा पाङबाट औषधी खुवाउने कार्यक्रम सुरुवात गरिएको छ ।
गत वर्ष ८४ प्रतिशतले मात्रै औषधी खाएकोमा यो वर्ष कम्तीमा ९० प्रतिशतलाई औषधी खुवाउन कोसिस गरिने उहाँले बताउनुभयो ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार यो वर्ष एक लाख ११ हजार ३ सय २५ जनालाई औषधि खुवाउने लक्षित समूहमा राखिएको छ । ६ हजार ३ सय ८२ जना दुई वर्षमुनिका बालबालिका तथा ४ हजार १ सय १६ जना गर्भवती बाहेक अरूलाई लक्षित समूहमा राखिएको छ ।
औषधि सेवन गराउन करिब तीन सय जना स्वास्थ्यकर्मी र पाँच सय जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने तयारी स्वास्थ्य कार्यालयले गरेको छ ।
स्वास्थ्य कार्यालयको समन्वयमा सातै स्थानीय तहले औषधी खुवाउने अभियान सञ्चालन गरेका छन् । पर्वतसहित गण्डकी प्रदेशका बागलुङ र लमजुङमा पनि १३औँ चरणको हात्तीपाइले रोगको औषधी खुवाउने कार्यक्रम रहेको छ ।