पोखरा । नेकपा एमालेनिकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नवौं महाधिवेशन शुक्रबारदेखि पोखरामा सुरु भएको छ । नयाँ नेतृत्व निर्वाचित गर्ने महाधिवेशनमा सहमतिकै आधारमा कमिटी बनाउने तयारी नेताहरूले गरिरहेका छन् ।
चौतारीको नेतृत्व हात पार्न आकांक्षीहरूले दौडधुप गरिरहेका छन् । वरिष्ठ उपाध्यक्ष माधव नेपालले अध्यक्षका लागि लबिङ गरिरहेका छन् । आठौं महाधिवेशनमा नै उनी अध्यक्षका दाबेदार थिए तर, सहमतिका लागि भन्दै उनी वरिष्ठ उपाध्यक्षमा बस्न तयार भएका थिए ।
त्यस्तै, अहिलेकै अध्यक्ष गणेश बस्नेत फेरि दोहोरिने प्रयास गरिरहेका छन् । अहिलेका उपाध्यक्ष गणेश पाण्डेले नेतृत्व हात पार्ने गरी नेताहरूलाई आगामी योजना र कार्यक्रम नै पेश गरेका छन् । टीका विष्टले अध्यक्षका लागि कसरत गरिरहेकी छन् । अहिलेका महासचिव राजेश राईले आकांक्षा देखाए पनि धेरै आकांक्षी हुँदा फिर्ता लिन सक्ने सम्भावना रहेको एक नेताले बताए । प्रमोद दाहाल र दीपक पाण्डे पनि अध्यक्षका लागि आकांक्षी छन् ।
महासचिवमा अहिलेका उपमहासचिव हिरामान लामा, कोषाध्यक्ष ईन्द्र आचार्य, केन्द्रीय सदस्य प्रकाश सिलवाल र चेतन अधिकारीले आकांक्षा देखाएका छन् ।
महाधिवेशन संयोजक गणेश पाण्डेले भरसक सहमति गर्ने तर सहमति नजुटे निर्वाचनमा कसरी जाने भन्ने तय भइनसकेको जानकारी दिए । आजैबाट सुरु हुने बन्द सत्रले केन्द्रीय कमिटीको संख्या, संरचना र अबको बाटो तय गर्ने जानकारी दिए । चैतारीमा अध्यक्षसहित ४ उपाध्यक्ष, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने प्रस्ताव गरिएको । केन्द्रीय समिति १५१ सदस्यीय रहने प्रस्ताव छ । केन्द्रीय कमिटीको संख्या अझै घटाउनेबारे पनि छलफल चलिरहेको छ ।