पोखरामा ३ वर्षपछि फेरि बर्ड फ्लू देखिएको छ । पछिल्लो समय तराइ भेगमा बर्ड फ्लू देखिदैँ आइरहँदा पोखरामा समेत भेटिएको हो ।
पोखरा महानगरपालिका वडा १५ र वडा १७ मा बर्ड फ्लू देखिएपछि त्यहाँका कुखुरा तथा पंक्षीहरु नष्ट गरिएको हो । पोखरा १५ का खुसीमान गुरुङले पालेका १३ वटा कुखुरा र वडा १७ का खेमबहादुर क्षेत्रीले पालेको कुखुरा मरेपछिे परीक्षण गराउँदा बर्ड फ्फू पुष्टि भएको हो ।
पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमाग गरिएको परीक्षणले बर्ड फ्फू पुष्टि भएसँगै ती दुबै फर्ममा रहेका कुखुरा,हाँस,सुली, दाना नष्ट गरिएको छ । ती दुबै फर्मलाई केन्द्र मानेर वरपरका समेत गरी कुल ३९ घरधुरीका ३८१ वटा कुखुरा,१२ हाँस, ५१ वटा बट्टाई, ५ वटा टर्की,५०९ गोटा अण्डा,२२ किलोग्राम कुखुराको मासु, ३३२ केजी दाना र ३ हजार ८ सय किलोग्राम सुली नष्ट गरिएको छ । सो क्षेत्रमा यही फागुन २९ गतेसम्म पंक्षी पालन गर्न तथा फागुन २७ गतेसम्म पंक्षीहरु ओसारपसार गर्न रोक लगाइएको बर्ड फ्फू नियन्त्रण कन्ट्रोल जोन इन्चार्ज शम्भुराज पाण्डेले जानकारी दिएका छन् ।
पोखरामा पहिलो पटक सन् २०१० मा कुखुरामा बर्ड फ्लू संक्रमण पुष्टि भएको थियो । त्यसपछि सन् २०१३,२०१७ र पछिल्लो समय २०१९ पछि पहिलो पटक पोखरामा बर्ड फ्लू देखिएको हो । कास्कीको मादी गाउँपालिका याङ्जाकोटमा यस अघि बर्ड फ्लू पुष्टि भएको उनले बताए । बर्ड फ्फू पुष्टि भएपछि ४२ दिनसम्म पंक्षी पाल्न नमिल्ने उनको भनाइ छ । यस्तै बर्ड फ्लू देखिएको १ किलोमिटर क्षेत्रभित्र रहेका अन्य कुखुराहरु समेत नष्ट गरिएको छ । खासमा ३ किलोमिटर क्षेत्रभित्रका कुखुरा तथा घरपालुवा पंक्षी नष्ट गर्न पर्ने भएता पनि भौगोलिक हिसाबले क्षेत्र थोरै गरिएको उनले बताए ।
कोरोना महामारीपछि आम नागरिकले घरमै थोरै भएपनि आफैले खाने गरी कुखुरा पाल्न थालेको उनले बताए । पोखरामा देखिएको बर्ड फ्लू घरकै लागि पालिएको उनले बताए । ‘पोखरामा जतिपनि कुखुरामा बर्ड फ्लू देखिए ती व्यावसायिक होइनन् । सामान्य घरमै पालेका हुन्’, उनले भने,‘तर, त्यसो भन्दैमा ढुक्क हुने अवस्था छैन् । कास्कीमा कुखुरा तथा पशुपंक्षी व्यवसायी धेरै छन् । अब सबैले परीक्षण गर्नुपर्ने देखिएको छ ।’
वडा १५ का वडा अध्यक्ष प्रकाश पौडेले वडामा नष्ट भएका कुखुराका धनीलाई उचित राहतको व्यवस्था हुने बताए । उनले एक घरमा बर्ड फ्लू देखिएपछि आसपास अन्य घरमा पालेका कुखुराहरुको समेत नष्ट गरिएको जानकारी दिए । उता वडा १७ का वडा सदस्य बैकुण्ठ भण्डारीले आफ्नो वडामा कुखुरा तथा बट्टाई चरा र अण्डाहरु नष्ट गरिएको जानकारी दिए ।