पर्वतमा गरिब परिवार परिचय पत्र वितरण कार्य सुरु

पर्वतमा गरिब परिवार परिचय पत्र वितरण कार्य सुरु

  • Kanchan News

  • बिहिबार, फाल्गुन १९, २०७८

  • 136
    SHARES
पर्वतमा गरिब परिवार परिचय पत्र वितरण कार्य सुरु

पर्वतमा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्य सुरु गरिएको छ ।

जिल्लाका दुई नगरपालिका र पाँच गाउँपालिकामा गरिब परिवार पहिचान तथा परिचय पत्र वितरण कार्य सुरु भएको हो ।

गरिबीको रेखामुनि परेका परिवारहरूको तथ्याङ्क सङ्कलन गरी उनीहरूलाई परिचय पत्र वितरण गर्न थालिएको स्थानीय तहहरूले जनाएका छन् ।

अहिले जिल्लाका सात वटै स्थानीय तहमा गणक तथा सुपरिवेक्षकहरू परिचालन गरिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत गरिबी निवारण गर्नका लागि सामाजिक सुरक्षा तथा राज्य र गैर राज्यबाट प्रदान गरिने सेवामा गरिब परिवारको पहुँच वृद्धि गर्न यो अभियान थालिएको हो ।

गरिब परिवार पहिचान गरी उनीहरूलाई राज्यको तर्फबाट राहत प्याकेज सहयोग गर्ने उद्देश्यले तथ्याङ्क सङ्कलन गर्न थालिएकोले सही र सत्य विवरण सङ्कलन गर्नुपर्नेमा जोड दिइएको छ ।

यसको मूल्याङ्कन तथा अनुगमनको जिम्मा जिल्ला समन्वय समितिले पाएको छ । गाउँपालिकाको कार्य योजना अनुसार गणक तथा सुपरिवेक्षक पाँच महिना सम्म फिल्डमा खटिएर तथ्याङ्क सङ्कलन गर्ने जिल्ला समन्वय अधिकारी सुरेश ढकालले  जानकारी दिनुभयो ।

स्थानीय तहहरूले मातहतका बासिन्दाहरूलाई सही तथ्याङ्क टिपाउन आग्रह गरेका छन् ।

उनीहरूले जति धेरै सत्य तथ्य सूचना सङ्कलन भयो त्यति नै धेरै राज्यलाई सहजता र प्रत्यक्ष गरिब परिवारलाई राहत पुग्ने भएकाले झुटा विवरण नदिन आग्रह गरिएको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले बताउनुभयो ।

पर्वत जिल्लाभर परिचालन हुने ४१ जना गणक तथा सुपरिवेक्षकलाई जिल्ला समन्वय समितिले केही दिनअघि ६ दिने तालिम समेत दिइसकेको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News