कुश्मा नगरपालिकाले सबै वडाका कच्ची सडक कालोपत्रे गर्ने

कुश्मा नगरपालिकाले सबै वडाका कच्ची सडक कालोपत्रे गर्ने

  • Kanchan News

  • सोमवार, फाल्गुन १६, २०७८

  • 126
    SHARES
कुश्मा नगरपालिकाले सबै वडाका कच्ची सडक कालोपत्रे गर्ने

पर्वतको कुश्मा नगरपालिकाले सबै वडाका कच्ची सडक कालोपत्रे गर्ने भएको छ । नगरपालिकाले सघन शहरी विकास कार्यक्रम अन्तर्गत चालु वर्ष प्राप्त गरेको रु.५० करोड रुपैयाँ बाट कुश्माका सबै वडामा रहेका मुख्य कच्ची सडकलाई पक्की बनाउने योजना अगाडी सारेको हो । यसका लागि कुश्मा नगरपालिकाको कटुवाचौपारी, पिपलटारी, ठूलीपोखरी, खौला र आर्थरमा पुगेर योजनाका बारेमा जनप्रतिनिधि सँग छलफल गरेको छ ।

सडक कालोपत्रे योजना अनुरूप वडाहरूमा योजना छनौट गर्न सुरु गरिएको छ । नगरप्रमुख रामचन्द्र जोशी, उपप्रमुख सीता काफ्ले लामिछाने, प्रमुख प्रशासकीय अधिकृत कुमानसिँह गुरुङ, इन्जिनियर शिवराज बराल, जिन्सी शाखा प्रमुख बालकृष्ण शर्मा सहित नगरप्रमुखको सचिवालयका कर्मचारी पुगेर वडाका प्रतिनिधीसंग योजनाको बारेमा छलफल गरेका छन् ।

वडाका अध्यक्ष तथा सरोकारवालाहरूले आफ्नो वडाका योजनाहरूको टिपोट गराउनुभएको छ । नगरप्रमुख जोशीले वडाका योजनाको बारेमा छलफल गर्ने र आवश्यकताका आधारमा योजना छनौट गरी टेन्डर आव्हान गरिने बताउनुभयो । चालु वर्ष प्राप्त भएको बजेटबाट काम सुरु गरेर वहुवर्षे योजनामा पार्ने, सडक पुरा नहुन्जेलसम्म बजेटको सुनिश्चितता गरिने बताउनुभयो । सबै वडाका कच्ची सडक पक्की बनाएपछि गाउँका बासिन्दालाई सहज हुने, गाउँको बाँझो जमिन उपयोग हुने र तीव्र बसाईसराई रोकिने अपेक्षा रहेको जोशीले बताउनुभयो ।

यो बजेटबाट नयाँ ट्र्याक खोल्न पाइने छैन । बस्ती भएको ठाउँ र अरू कार्यक्रममा समावेश नभएको सडक योजनामा सूचिकृत हुने जोशीले बताउनुभएको छ । नगरउपप्रमुख सीता काफ्ले लामिछानेले वडामै पुगेर योजना छनौट गर्ने सिलसिलामा सबै वडामा पुगिने बताउनुभयो । स्थानीयबासीहरुको आवश्यकताका आधारमा योजना छनौट गरी कार्यक्रमलाई साझा दृष्टिकोण अनुसार अगाडी बढाउन चाहेको लामिछानेले बताउनुभयो ।

वडाबाट आएका योजना उपर वृहत् छलफल गरी निर्वाचनको आचारसंहिता लागु नहुँदै काम सुरु गर्ने सोचमा रहेको सुनाउनुभयो । कुश्माबजारमा रहेका ४ वडा, पकुवा, चुवा, दुर्लुङ, खुर्कोट र पाङमा योजना छनौटको काम बाँकी रहेको छ । ती वडामा पनि योजना छनौटका लागि टोली पुग्ने कुश्मा नगरपालिकाले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News