उत्तरी गोरखाको माछिखोलामा पुग्यो बस,स्थानीयवासीले गरे स्वागत

उत्तरी गोरखाको माछिखोलामा पुग्यो बस,स्थानीयवासीले गरे स्वागत

  • Kanchan News

  • सोमवार, फाल्गुन २, २०७८

  • 237
    SHARES
उत्तरी गोरखाको माछिखोलामा पुग्यो बस,स्थानीयवासीले गरे स्वागत

उत्तरी गोरखाको धार्चे गाउँपालिका केन्द्र माछिखोलामा पहिलो पटक यात्रुबाहक बस पुगेको छ । आइतवार पुगेको ग १ ख ९४४० नम्बरको बसलाई स्थानीयले स्वागत गरे ।

१०४ वर्षीया स्थानीय पुर्नी गुरुङले चालक र सहचालकलाई खादा ओढाएर स्वागत गरिन् । गाउँपालिका अध्यक्ष सन्तोष गुरुङले रिबन काटेर माछाखोलामा बस सेवा शुरु भएको घोषणा गरे ।

जिल्लाको ग्रामिण भेगमा सेवा दिंदै आएको गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालिले माछिखोलासम्म बस सेवा शुरु गरेको हो । यसअघि प्रालिले आरुघाटको सोतीसम्म बस सन्चालन गर्दै आएको थियो । अब माछिखोलासम्म नियमित बस चल्ने प्रालिका आर्थिक संयोजक शरण गुरुङ (चुर्ण) ले बताए । ‘’

उनका अनुसार तत्कालका लागी माछिखोलाबाट दुई वटा बस छुट्ने व्यवस्था गरिएको छ । ‘एउटा बिहान छुट्छ, अर्काेले रात्रिकालीन सेवा दिन्छ, केही दिनपछि अरु गाडीहरु पनि थप्छौं,’ उनले भने । माछिखोलाबाट छुट्ने बस आरुघाट, गोरखा बजार हुँदै काठमाडौं जाने उनले जानकारी दिए ।

गाउँमा बस सेवा शुरु भएपछि स्थानीय खुशी छन् । आउजाउसँगै सामान ढुवानीमा पनि सहज हुने उनीहरुको अपेक्षा छ । यसअघि सोतीदेखि माछिखोलासम्म निजी जिपहरुले ट्राफिक नियम उल्लंघन गर्दै यात्रु ओसार पसार गर्दै आएका थिए । क्षमताभन्दा बढी यात्रु कोच्ने र मनपरी भाडा असुल्ने गर्दा स्थानीय हैरान थिए ।

सोतीदेखि माछिखोलासम्मको दुरी करिब १३ किलोमिटर मात्र भए पनि जीपहरुले प्रतियात्रु पाँच सय रुपैयाँ भाड लिने गर्दथे । तर बसको भाडा भने १५० रुपैयाँ मात्रै निर्धारण गरिएको छ ।।

बेनीघाट-आरुघाट-लार्केभञ्ज्याङ सडक आयोजना अन्तरगत धार्चे गाउँपालिकाको हावाडाँडादेखि तिब्बत जोड्ने सडकको ट्रयाक खन्ने काम नेपाली सेनाले गरिरहेको छ । चुमनुब्री गाउँपालिकाको केन्द्र सिर्दिवाससम्म ट्रयाक पुगिसकेको छ । सोही आयोजना अन्तरगत नेपाली सेनाले सडक खनेपछि माछिखोला यातायात सञ्चालन हुन थालेको हो ।

अब सडक मर्मतका लागि सम्बन्धित निकायमा पहल गर्ने र ट्राफिक कार्यालयसँग समन्वय गरेर ठाउँठाउँमा ट्राफिक चिह्नहरु राखिने गाउँपालिका अध्यक्ष गुरुङले बताए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News