दुई सय बर्ष पुरानो भुलभुले बाराही मन्दिर ओझेलमा

दुई सय बर्ष पुरानो भुलभुले बाराही मन्दिर ओझेलमा

  • Kanchan News

  • शुक्रबार, माघ २८, २०७८

  • 144
    SHARES
दुई सय बर्ष पुरानो भुलभुले बाराही मन्दिर ओझेलमा

ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय हिसाबले महत्त्वपूर्ण रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका ३ को भुलभुले बाराही मन्दिर प्रचारप्रसारको कमीले ओझेलमा परेको छ ।

भुलभुलेमा रहेको मन्दिर दुई शताब्दी अघिदेखि पूजा गरिँदै आए पनि मन्दिरको संरक्षणसँगै आवश्यक प्रचार गर्न नसक्दा ओझेलमा परेको यहाँका स्थानीय लालप्रसाद गर्ताैलाले बताउनुभयो ।

उहाँले मन्दिरको प्रवर्द्धनका लागि स्थानीयको चासो कम भएको समेत गुनासो गर्नुभयो । पानीको भुलभुल आवाजसहित मन्दिर छेउमा रहेको मूलबाट लहरी छुट्ने भएकाले मन्दिरको नाम भुलभुले बाराही रहन पुगेको गर्ताैला जनाउनुभयो ।

मन्दिरको स्थापना कहिले भयो भनेर अहिलेसम्म कुनै लिखित प्रमाण फेला नपरेको गर्तौला उहाँको भनाई छ । “यसको स्थापना कहिलेदेखि भयो भनेर कुनै लिखित प्रमाण र शिलालेख पनि नभेटिएको हुँदा कहिले भयो भनेर यकिन छैन । तर हाम्रा पिता पुर्खाको कुरा सुन्दा १९औँ शताब्दी अघिदेखि नै मन्दिरमा पूजा गरिँदै आएको भन्ने भनाई छ”, उहाँले भन्नुभयो ।

मन्दिर ऐतिहासिक भए पनि मन्दिरलाई चिनाउन कसैले पनि पहल गर्न नसक्दा मन्दिर ओझेलमा परेको भुलभुले बाराही एकता समाज शुक्लागण्डकीको अध्यक्ष दुर्गादत्त सापकोटाले बताउनुभयो ।

उहाँले मन्दिरलाई चिनाउनका समिति मात्र लागि परेर पर्याप्त नभएको भन्दै सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

“मुख्य कारण भनेको प्रचार प्रसारको कमी हो । समितिले मन्दिरको प्रचारप्रसारको कार्यलाई जोड दिएको छ ।”, उहाँले भन्नुभयो ।  “यसमा स्थानीय समाजसेवी, बुद्धिजीवी र सरकारले थप पहल गरेमा भुलभुले बारही मन्दिर पनि पर्यटकीय गन्तव्यको रुपमा विकास हुन्छ ।”

पृथ्वी राजमार्गदेखि करिब तीन सय मिटर दुरीमा यो मन्दिर रहेको छ । देवीको मन्दिर रहेको यहाँ दैनिक पूजा हुने गर्दछ । तर, विशेष गरेर हरेक बर्ष चैते दसैँको अष्टमीका दिन गाउँलेहरू सबै मिलेर मन्दिरमा सामूहिक पूजा गरिँदै आएको स्थानीयहरूको भनाई छ ।

तनहुँका प्रसिद्ध धार्मिक तीर्थस्थलहरू ढोरबाराही, छाब्दी बाराही र ताल बाराही मन्दिरको बहिनीको रुपमा भुलभुले बाराही मन्दिरलाई लिने गरेको यहाँका स्थानीयहरू बताउँछन् ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News