दोब्बर हुँदै बाघको संख्या

दोब्बर हुँदै बाघको संख्या

  • Kanchan News

  • मङ्लबार, माघ २५, २०७८

  • 104
    SHARES
दोब्बर हुँदै बाघको संख्या

बाघका बारेमा धेरै कुरा भए तर २०६७ मंसिर ७ मा रुसको सेन्टपिटर्सबर्गमा लजालु बाघका बारेमा गरिएको संकल्प लक्ष्य इतिहासकै पहिलो र निर्णायकसमेत थियो ।

बाघ पाइने १३ देशका सरकार प्रमुखहरू बसेर गरेको त्यो संकल्प (लक्ष्य) १२ वर्षमा यसै वर्ष पूरा हुँदैछ– ‘टी एक्स २’ अर्थात् दोब्बर बाघ ।नेपाल, भुटान, भारत, भियतनाम, म्यानमार, मलेसिया, इन्डोनेसिया, चीन, रुस, बंगलादेश, थाइल्यान्ड र लाओस बाघ

पाइने देश हुन् । प्राकृतिक बासस्थानमा ३ हजार २ सयको हाराहारीमा सीमित रहेका बाघ दोब्बर बनाउन सबै देशले आ–आफ्ना कदम चाले, जसका कारण लक्ष्यअनुसार संख्यामा समेत बढोत्तरी भएको छ । त्यसको खुसियाली साट्न र ‘टी एक्स टु’ (डबल्ड टाइगर) को समीक्षा गर्न १३ वटै देशका सरकार प्रमुख

आगामी भदौ २० मा रुसकै अर्को सहर भ्लादिभोस्तोकमा भेला हुँदै छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाघको दोस्रो सम्मेलन आयोजना गरेका हुन् । त्यही अवसरमा नेपालले डब्लूडब्लूएफ इन्टरनेसनलको टी एक्स टु अवार्डसमेत ग्रहण गर्नेछ । बाघ संरक्षणमा सफलता हात पारेका बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको सत्यमंगलम् टाइगर रिजर्भलाई उक्त अवार्ड दिने निर्णय डब्लूडब्लूएफले गत साता गरेको थियो ।

बाघ दोब्बर गर्ने संकल्प घोषणा हुँदा नेपालमा बाघको संख्या १ सय २१ थियो । सन् २०१८ को गणनाअनुसार संख्या २ सय ३५ पुगेको छ । अहिले फेरि गणना भइरहेको छ । निकुञ्ज विभागका महानिर्देशक रामचन्द्र कँडेल अबको गणनाबाट दोब्बरको संकल्प पूरा हुने विश्वास व्यक्त गर्छन् । ‘समुदाय र साझेदार संस्थाको सहयोगका कारण हामी बाघको संख्या बढाउन सक्षम भएका हौं,’ उनले भने । आगामी फागुनभित्र नेपालका निकुञ्ज र आसपासको क्षेत्रमा बाघ गणना सकिँदै छ ।

बाघलगायतका वन्यजन्तुको संरक्षणमा सहयोगी अग्रणी संस्था डब्लूडब्लूएफले १२ वटा तरिका अवलम्बन गरिँदा बाघ दोब्बर गर्ने लक्ष्य पूरा हुन लागेको विश्लेषण गरेको छ । बाघ पाइनेमध्ये धेरै देशमा संख्या बढेका बेला दक्षिण पूर्वी एसियामा भने संख्या घट्नुलाई डब्लूडब्लूएफले चिन्ताजनक भनेको छ ।

१२ वर्ष अवधिमा नेपाल, भुटान, चीन, भारत र रुसमा अपेक्षाभन्दा छिटो बढेको पाइएको छ । कसरी बढ्यो त बाघको संख्या ? यसबीचमा बाघको विचरण क्षेत्रमा निर्बाध ओहोरदोहोर बढाउन विभिन्न देशहरूले फरक–फरक मिहिनेत गरेका छन् । नेपालमा पनि बाघको आउजाउ हुने मार्गहरूको संरक्षण र सम्भावित चोरी सिकारी रोक्न प्राथमिकता दिइएको थियो ।

बर्दियाको खाता जैविक मार्ग टाइगर कनेक्टिङका लागि उदाहरणीय मार्ग हो । यो जैविक मार्ग भारतको कतरनियाघाट वाइल्डलाइफ सेन्चुरीसँग जोडिन्छ । पछिल्लो अध्ययनअनुसार यो मार्गमा ५ वटा बाघ नेपाल–भारत ओहोरदोहोर गर्ने गरेका छन् ।यस्तै, रुसी सुदूरपूर्वमा लियोपार्ड नेसनल पार्कको भूमि छ । जुन करिडोरले बाघ चीनको उत्तरपूर्वमा अवस्थित अमुर टाइगर र लियोपार्ड नेसनल पार्क जान सुरक्षा प्रदान गरेको छ । एक दशकभन्दा बढीको संरक्षण प्रयासपछि त्यहाँ बाघको संख्या बढ्नुका साथै कनेक्टिभिटीले बाघलाई दुवै देशबीच आवतजावत गर्न सक्षम बनाएको छ ।

२५ सय मिटर उचाइमा भेटियो पाटे बाघ

डब्लूडब्लूएफले यसबीचमा वनमा आश्रित स्थानीयसँग साझेदारी गरेर संरक्षण योगदानलाई अघि बढाउन मद्दत गरेको छ । स्थानीय समुदायको प्रयासले बर्दियाको खाता जैविक मार्ग १ सय १५ हेक्टरबाट ३ हजार ८ सय हेक्टरमा विस्तार भएको छ । त्यस क्षेत्रमा वन पुनःस्थापना कार्यक्रमका साथै गोबर ग्यासलगायतका वैकल्पिक ऊर्जा कार्यक्रमलाई जोड दिइयो । जसले गर्दा वनमा परेको दबाब कम भयो, दाउराको खपत कम हुँदाको फाइदा वन संरक्षणमा भयो । अहिले यो जैविक मार्ग विश्वमै परिचित छ । र यही क्षेत्र भएर बाघ नेपाल र भारतमा स्वतन्त्र घुम्छन् । खाता जैविक मार्ग समितिसमेत यसै वर्ष रुसमा ‘टी एक्स २’ बाट पुरस्कृत हुँदै छ ।

बाघका अंग–प्रत्यंगको अवैध व्यापारविरुद्ध लड्न विभिन्न अपरेसनहरू सञ्चालन भए । अन्तर्राष्ट्रिय निकायले पनि सहयोग गर्‍यो । मुलुकभित्र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले विभिन्न स्थानमा सुराकी परिचालन गरेर बाघका अंगको कारोबारमा संलग्नहरूलाई नियन्त्रणमा लिएको छ । यही बीचमा १५ वर्षदेखि फरार हुम्लाका कुन्जोक लामालाई समेत काठमाडौंमा पक्राउ गरेको थियो ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News