राष्ट्रिय भूमि आयोग कास्कीको अध्यक्षमा नियुक्त हुनुभएका गङ्गा प्रसाद पोखरेलको पदवहाली तथा आयोग जिल्ला समिति सचिवालयको उद्घाटन गरिएको छ ।
पोखरा महानगरपालिका–७ शहीदचोकस्थित जिल्ला समन्वय समितिको कार्यालयमा आयोगको सचिवालय स्थापना गरिएको हो । गण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजी प्रसाद बरालले आयोगको सचिवालयको उद्घाटन गर्नुभएको हो ।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलव्ध गराउने र अव्यवस्थित बसोबासीका समस्या समाधान गर्न गत भदौमा राष्ट्रिय भूमि आयोग गठन गरेको थियो ।हालैको मन्त्रिपरिषद् बैठकले आयोगको जिल्ला स्थित अध्यक्षहरु नियुक्तिको निर्णय गरेको हो । कास्की जिल्लामा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का पोखरेल अध्यक्ष नियुक्त हुनुभएको हो । हाल जिल्लाहरुमा पनि आयोगका अध्यक्ष नियुक्त गरिएको छ ।
कार्यक्रममा अर्थमन्त्री बरालले भूमिहीन सुकुम्बासी र अव्यवस्थित समस्या देशकै समस्याको रुपमा रहेको बताउँदै त्यसलाई सँधैका लागि समाधान गर्न आयोग सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले सङ्घ, प्रदेश र स्थानीय सरकारको सहकार्यमा भूमिहीन सुकुम्वासीका समस्या समाधान गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो,“भूमिहीन नागरिकलाई भूमि उपलब्ध गराउने र व्यबस्थित बसोबासीका समस्यालाई समाधान गर्ने जिम्मा आयोगमा आएको छ । यस अवसरलाई राम्रोसँग उपयोग गर्न आयोगका पदाधिकारी सक्षम हुने विश्वास लिएको छु । ”पदबहालीपछि आयोगका जिल्ला अध्यक्ष पोखरेलले समितिले केही दिनभित्रमा पूर्णता पाउने बताउँदै त्यसपछि स्थानीय तहसँग सम्झौताका लागि काम अघि बढाइने बताउनुभयो ।
सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान, लगत सङ्कलन, प्रमाणीकरण तथा नाप नक्साको काम तत्कालै सुरु गरिने जानकारी दिँदै उहाँले यसअघिनै निवेदन दिएकाले पुनः निवेदन दिन नपर्ने बताउनुभयो ।संविधानले दिएको अधिकारलाई प्रयोग गरेर जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अवव्यवस्थित बसोबासीका समस्या समाधान गर्ने प्रतिवद्धता उहाँले जनाउनुभयो ।
अध्यक्ष पोखरेलले कार्यविधि ऐन, कानून नबाझिने गरी काम गर्ने बताउँदै केही समस्या आएमा भने सरोकारवाला निकायसंग छलफल र राय सल्लाहबाट मात्र अघि बढ्ने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो,“स्थानीय तह र प्रदेश सरकारको आयोगलाई सहयोग आवश्यक पर्दछ । जमिन उपलव्ध गराएर उनीहरुलाई लालपूर्जा वितरणको कार्यलाई तीव्रताका साथ अघि बढाउछौँ ।”