मस्तिष्कघातपछि उपचार र आराममा रहेका पोखराका मेयर मानबहादुर जिसीले सोमबार महानगर कार्यालय पुगेर कार्यभार सम्हालेका छन् । पुस अन्तिममा कोरोना संक्रमणसमेत भएका जिसी स्वास्थ्यमा सुधार आएपछि कार्यालय पुगेका हुन् ।
साउन १ गते मस्तिष्कघात भएपछि उनको काठमाडौंस्थित न्युरो अस्पतालमा उपचार भएको थियो । अप्रेसनसमेत गरी उपचार गराएका उनी पछिल्लो समय फिजियोथेरापी गराउँदै आएका थिए । विस्तारै स्वास्थ्यमा सुधार आएपछि उनी अचेल ह्विचियरबिनै हिँडडुल गरी बाहिरफेर निस्कन सक्ने पनि भएका छन् ।
बिरामी भएको केही समयपछि मेयर जिसीले उपमेयर मञ्जुदेवी गुरुङलाई कार्यबहाकको जिम्मेवारी सुम्पेका थिए । आफू फर्केर नआउँदासम्मका लागि भनेर जिसीले गुरुङलाई कार्यबहाक सुम्पिएका हुन् । साढे ६ महिनापछि अब भने मेयर जिसी आफैं कार्यभार सम्हाल्न गएका छन् । कार्यभार सम्हाल्न गएको दिन सोमबार उनी पोखरा ४ र ५ जोड्ने फिर्केपुल निर्माणको अवस्था बुझ्न महानगरपालिकाको एउटा टोलीसहित स्थलगत अवलोकनमा गए ।