
पोखरा
आहारारा गोल्डकपको उपाधि एपीएफले जितेको छ । मनाङ मर्स्याङ्दीलाई टाइब्रेकरमा ५–४ ले स्तब्ध पार्दै एपीएफले २० औं आहारारा गोल्डकपको उपाधि जितेको हो ।
खेलको २० औं मिनेटमा वर्मन्ड बिडोमको पासलाई नियन्त्रणमा लिँदै युवराज खड्काले गोल गर्दै एपीएफलाई अग्रता दिलाएका थिए । पहिलो हाफ कमजोर प्रदर्शन गरेको मनाङले दोस्रो हाफमा भने ग्यामलाई सुधार गर्दै आका्रमक रुपमा खेलेको थियो । मनाङका तर्फबाट ६७ औं मिनेटमा धनञ्जय सिंहले हेडिङमार्फत गोल गर्दै खेललाई बराबरीमा फर्काउन सफल भए । खेल बराबरीमा भए सँगै पोखरा रगंशालाको महोल निकै तातेको थियो । पुनः मनाङबाटै खेलको ८३ औं मिनेटमा विश्व अधिकारीको फ्रिकिक प्रहारलाई हेडिङमार्फत सुन्दर फिनिसिङ दिँदै फ्रांकलिन कुटे टल्लाले मनाङलाई अग्रता दिलाएका दिलाए । तर त्यो धेरै बेर टिक्न भने सकेन त्यस लगत्तै इन्जुरी समयमा एपीएफका रवि थिङले गोल गर्दै खेल बराबरीमा ल्याए ।
निर्धारित समयमा खेल २–२ गोलको बराबरीमा रोकिएपछि ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा एपीएफले मनाङलाई दबाबमा राखेको थियो । खेल बराबरीमा गए सँगै टाइब्रेकरमा गएको थियो । छ पटक उपाधि विजेता टोली मनाङ र १४ वर्षपछि फाइनल पुगेको एपीएफबीचको खेल निकै रोमाञ्चक बनेको थियो । उपाधि उचालेको एपीएफले १० लाख रुपैयाँ हात पारेको छ ।