
नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ। अघिल्लो जनगणनाको तथ्यांकभन्दा २७ लाख मात्रै वृद्धि भएको हो। केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्रै छ। यो ८० वर्षकै कम वृद्धिदर भएको विभागको तथ्यांकले देखाउँछ। १९९८ सालमा गरिएको चौथो जनगणनाअनुसार नेपालमा जनसंख्या वृद्धिदर१.१६ प्रतिशत थियो। पछिल्लो वृद्धिदर प्रतिशतमा ०.९३ मा झरेको छ। १९९८ साल अघि नेपालको जनसंख्या वृद्धिदर ऋणात्मक थियो। १९९८ को जनगणनापछि अहिले जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा तल झरेको छ। २०६८ सालको भन्दा ०७८ को जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ ले मात्रै बढी हो।
०६८ सालमा २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो। १० वर्षमा १०.१८ प्रतिशत जनसंख्या वृद्धि भएको विभागको तथ्यांकमा उल्लेख छ। अघिल्लो जनगणनामा १.३५ प्रतिशत वृद्धिदर थियो। पछिल्लो तथ्यांकअनुसार कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३११ जना पुरुष (४८.९६ प्रतिशत) र १ करोड ४९ लाख १ हजार १६९ जना महिला (५१.०४ प्रतिशत) रहेको छ।
१० वर्षअघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५ प्रतिशत र ५१.५ प्रतिशत थियो। हालको प्रारम्भिक नतिजाअनुसार लैंगिक अनुपात ९५.९१ छ। जुन गत जनगणनामा ९४.१६ थियो।
१० घरमा १२ परिवार
जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७ लाख ६१ हजार ५९ छ। ती परिवार ५६ लाख ४३ हजार ९ सय ४५ वटा घरमा बसेको तथ्यांकले देखाउँछ। यो तथ्यांकले अनुसार प्रति १० वटा घरमा औसतमा १२ वटा परिवार बसोबास गरेको देखाउँछ। हालको परिवार संख्या भने १० वर्ष अघिको भन्दा करिब २४.५७ प्रतिशतले वृद्धि भएको पाइएको छ। यस अवधिमा जम्मा १३ लाख ३३ करोड ७ सय ५७ वटा परिवार थप भएको छ ।
जनगणनाले प्रतिपरिवार ४.३२ जना सदस्य रहेको देखाउँछ। २०६८ मा ४.८८ जना थियो। सहरी क्षेत्रको परिवारमा करिब ४.२५ जना छन् भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको तथ्यांकले देखाउँछ। यो तथ्यांक १० वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो। भौगोलिक क्षेत्रअनुसार हिमाली क्षेत्रमा ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको विभागले जनाएको छ।
प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य संख्या गण्डकी प्रदेशमा सबैभन्दा कम ३.६६ जना र मधेस प्रदेशमा सबैभन्दा बढी ५.६६ जना रहेको छ। यो २०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना थियो। जिल्लाअनुसार परिवारको आकार सबैभन्दा सानो दोलखामा ३.४१ जना छ भने सबैभन्दा ठूलो रौतहट जिल्लामा ५.९२ जना रहेको तथ्यांकले देखाउँछ।
तराईमा बढ्यो, पहाड र हिमालमा घट्यो
भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको जनसंख्या क्रमशः बढ्दै गएको देखाउँछ। २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ। हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत भएकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशतमा खुम्चिएको छ। पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशतमा हाल ४०.२५ प्रतिशत मा झरेको छ।
१० वर्षको अवधिमा लैंगिक अनुपात तराईमा १ प्रतिशतले घटेको देखिएको छ भने हिमाल तथा पहाडमा क्रमशः ३ प्रतिशत र ४ प्रतिशतले बढेको देखिएको छ। गत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ थियो। २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजासम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ मा कायम छ। वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक –०.०२ प्रतिशत, पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक ०.२९ प्रतिशत र तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक १.५६ प्रतिशत छ ।
मधेस प्रदेशमा बढी, कर्णालीमा कम
प्रदेशगत रूपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेस प्रदेशमा ६१ लाख २६ लाख २८८ र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ लाख ९४ हजार ८ सय ८९ जना छ। यो समग्रको क्रमशः २०.९९ प्रतिशत र ५.८१ प्रतिशत हो। प्रदेशगत रूपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ प्रतिशत प्रतिवर्ष र सबैभन्दा कम गण्डकी प्रदेशमा ०.३० प्रतिशत प्रतिवर्ष जनसंख्या वृद्धि भएको तथ्यांकले देखाउँछ। दोस्रो धेरै वार्षिक जनसंख्या वृद्धिदर हुने प्रदेशमा मधेस प्रदेश छ। यहाँ वृद्धिदर १.२० प्रतिशत प्रतिवर्ष छ। अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.० प्रतिशतभन्दा कम छ ।
देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २० लाख १७ हजार ५ सय ३२ जना र सबैभन्दा कम मनाङमा ५ हजार ६ सय ४५ जना छ। मोरङ, रूपन्देही, झापा र सुनसरी जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लामा परेका छन्। कम जनसंख्या भएकातर्फ मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा छन्। सबैभन्दा बढी लैंगिक अनुपात मनाङ जिल्लाको १ सय ३० र सबैभन्दा कम प्युठान जिल्लाको ८२ छ।
हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर ऋणात्मक छ। गत २०६८ को जनगणनाअनुसार २७ वटा जिल्लामा ऋणात्मक छ। सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुरमा ३.३२ प्रतिशत र सबैभन्दा कम रामेछापमा –१.६५ प्रतिशत रहेको छ। हिमाली जिल्लाहरूमध्ये मुगुमा सबैभन्दा बढी १.८० प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर छ ।
गाउँमा एकतिहाइ मात्रै जनसंख्या
२०७८ सालको कुल जनसंख्यामा सहरी जनसंख्या ६६.०८ प्रतिशत पुगेको छ। ग्रामीण जनसंख्या भने ३३.९२ प्रतिशत छ। संघीय संरचनापछि स्थानीय तहलाई सहरी र ग्रामीण क्षेत्रअनुसार वर्गीकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा सहरी जनसंख्या ६३.१९ प्रतिशत र ग्रामीण जनसंख्या ३६.८१ प्रतिशत थियो। राष्ट्रिय जनगणना २०६८ मा ५८ वटा नगरपालिका रहेको अवस्थामा कुल जनसंख्याको १७.०७ प्रतिशत सहरी जनसंख्या र ८२.९३ प्रतिशत ग्रामीण जनसंख्या थियो अन्नपूर्णपोष्टमा खबर छ ।।