राष्ट्रियसभामा जनमोर्चाको इन्ट्रि

राष्ट्रियसभामा जनमोर्चाको इन्ट्रि

  • Kanchan News

  • बुधबार, माघ १२, २०७८

  • 86
    SHARES
राष्ट्रियसभामा जनमोर्चाको इन्ट्रि

सत्तारुढ गठबन्धनका उम्मेदवार तुलप्रसाद विक (राजेश) लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् । राष्ट्रिय जनमोर्चाका नेता विकले  प्रदेशसभाको

सबैभन्दा ठूलो दल एमालेका कृष्ण सुनारलाई पराजित गरेका हुन् । प्रदेशसभामा ६६ सदस्य र स्थानीय तहमा ८८ पदाधिकारी रहेको एमालेका उम्मेदवार सुनारलाई हराउँदा तुलप्रसादले ४५ प्रदेशसभा सदस्य र स्थानीय तहका १२२ जना पदाधिकारीको मत पाए ।

जबकी लुम्बिनीमा जनमोर्चाका एक प्रदेशसभा सदस्य र स्थानीय तहमा ५ जना पदाधिकारी छन् । जनमोर्चाबाट पहिलोपटक राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने अवसर पाएका उनले सत्ता गठबन्धनको (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी) मत पाएरै जिते ।

‘गठबन्धन नभएको भए मैले जित्ने आधारै थिएन’ तुलप्रसाद भन्छन्, ‘तर हाम्रो मतका कारण पनि गठबन्धनका अरु दुई जनाले जित्नुभयो । यसलाई पनि बिर्सनुहुन्न ।’ ४३ वर्षअघि प्राथामिक विद्यालयको हेडमास्टर छोडेर नेकपा मसालमा होमिएका तुलप्रसादले पाएको यो पहिलो राजकीय पद हो । राजतन्त्रको विरोधमा पर्चा बाँडेको आरोपमा पञ्चायती प्रताडना सहन नसकेर उनले शिक्षण पेशा छोडेका थिए । उनी यो जितलाई निष्ठा र इमानका साथ निरन्तर पार्टीमा लागेबापत पाएको अवसर ठान्छन् ।

निरन्तर पराजित भइरहे पनि तुलप्रसादले पार्टी निर्णय पालना गर्दै उम्मेदवारी दिँदै आएका थिए । २०५६ को चुनावमा रुपन्देही–३ बाट नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानले जित्दा एमालेका विष्णुप्रसाद पौडेलसँगै उनी पराजित भए । २०७० र ०७४ मा उनी समानुपातिक तर्फका उम्मेदवार थिए । तर मत नपुगेकाले सांसद हुन पाएनन् ।

२०२७ सालमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल बाग्लुङको गल्कोट माथिका विज्ञान शिक्षक थिए । १ असोज २०१५ मा बाग्लुङमा जन्मिएका तुलप्रसाद खनालका विद्यार्थी बने । त्यो विद्यालयका प्रअ चित्रबहादुर केसी थिए । केसी र खनालको प्रभावले कक्षा–६ पढ्दै उनी राजनीतितर्फ आकर्षित भए ।

२०५० सादेखि रुपन्देहीको सैनामैना मुर्गिया बसाइ सरेका तुलप्रसादले आफ्नो राजनीति भने केसीसँग जोडे । झलनाथ खनाल गिरफ्तारीमा पर्दा प्रहरीसँग लडेको अनुभव भने उनको सम्झनामै सीमित रह्यो । तर संयोग, तिनै खनाल आवद्ध एकीकृत समाजवादीको समेत मत पाएर तुलप्रसादले राष्ट्रियसभा सदस्य निर्वाचित भएका छन् ।

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News