माधव पराजुली, पोखरा
गण्डकी प्रदेशमा राष्ट्रिय सभा सदस्यमा सत्ता गठबन्धनका तिन ओटै उम्मेदवार निर्वाचित भएका छन् । राष्ट्रिय सभा सदस्यमा महिला कोटा बाट कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकीमा तीन पदका लागि ६ जना उम्मेद्वारको प्रतिस्पर्धा रहेको थयो । एमालेबाट महिलामा लिला थनेत, खुलामा पुण्य पौडेल र दलितमा अर्जुनकुमार सुनाम उम्मेद्वार हुनुहुन्थ्यो ।
हिलातर्फ पन्तले १३ सय ९२ मतभार पाईन भने, स्थानिय तहमा कमला पन्तले ९४ जनप्रतिनिधिको मत पाउनुभयो । यो मत १६ सय ९२ हुन आउँछ । उहाँले कुल मत ३ हजार ८४ ल्याएर विजयी हुनुभयो । भुवन सुनारले ३ हजार ४८ मतभार ल्याए भनेआलेले ३ हजार ९६ मतभार पाउनुभयो ।
बुधबार भएको राष्ट्रिय सभा निर्वाचनका लागि दुई जना मतदाता अनुपस्थित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । राप्रपाबाट निर्वाचित बागलुङका उपमेयर सुरेन्द्र खड्का र एमाले बाट निर्वाचित मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट मतदानमा अनुपस्थित भएको निर्वाचन कार्यालयले जनाएको छ । विष्ट अमेरिकामा रहेको र खड्का राप्रपाले मतदानमा सहभागि नहुन गरेको निर्देशनका कारण निर्वाचनमा सहभागि नभएको बताईएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टीले ह्वीप जारी गरेता पनि म्याग्दीको बेनीकी उपमेयर सन्जु बरुवालले भने मतदान गर्नुभएको छ । स्वतन्त्र सांसद एवम् युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि मतदान गर्नुभएको छ ।