स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

  • Kanchan News

  • सोमवार, माघ १०, २०७८

  • 81
    SHARES
स्थानीय चुनाव असोजमा गर्ने गठबन्धनको तयारी

आवश्यक कानुन बनाएर आगामी असोजमा स्थानीय तहको निर्वाचन गर्ने गरी सत्तारुढ पाँचदलीय गठबन्धनले गृहकार्य सुरु गरेको छ । संविधानसँग बाझिएका

कानुन संशोधन गर्ने र संविधानको व्यवस्थाअनुसार निर्वाचन गर्ने गठबन्धनमा सहमति भएको छ ।संविधानअनुसार पदाधिकारीको कार्यकाल सकिएको ६ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने व्यवस्था संविधानमा छ । गठबन्धनले स्थानीय निर्वाचनसम्बन्धी ऐनमा

रहेको कानुनी जटिलता जसरी फुकाउने भनेको छ, यसले वैशाख–जेठमा स्थानीय तहको निर्वाचन नहुने प्रस्ट भएको छ । विकल्पका रूपमा गठबन्धनले असोजमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेको छ ।  ‘संविधानसँग बाझिएका कानुनमा सुधार गरेर स्थानीय तहका तीन चरणको चुनावबाट

गठित पालिकाहरूको कार्यकाल पूरा हुनासाथ संविधानबमोजिम नयाँ चुनाव गराउने गठबन्धनमा सर्वसम्मत सहमति भएको छ,’ जनता समाजवादी पार्टीका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले भने । २ असोजको आसपास चुनाव हुँदा सवै समस्याको हल हुने भट्टराईको दावी छ । ‘संविधानको धारा १२५ ले कार्यकाल पाँच वर्ष पुगेको ६ महिनाभित्र भनेको छ । पहिलो चरणको त कार्यकाल पुग्छ ।

असोजको त पुग्दैन नि । ६ महिनाभित्र निर्वाचन नगरे अदालत जान्छ । ६ महिनाभित्र त निर्वाचन गर्नैपर्‍यो । अगाडि ल्याउँदा २ असोजले मेरो पाँच वर्ष कार्यकाल पुगेन भनेर मुद्दा हाल्यो भने के हुन्छ ? असोज २ को आसपास चुनाव गरियो भने समाधान हुन्छ’ भट्टराईले भने । बालुवाटारमा गठबन्धनका नेताहरूले कानुनविद्सँगको संविधान र ऐनबीच कसरी एकरूपता ल्याउने भन्नेबारे विभिन्न विकल्पमा छलफल गरेका थिए ।

सोही छलफलमा कानुनविद्हरूले नेपालको संविधानसँग बाझिएका कानुन संशोधन गर्न सुझाव दिएका छन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ संविधानसँग बाझिएको देखिएकाले संशोधन गर्न कानुनविद्हरूले सुझाव दिएको प्रधानमन्त्रीका कानुनविज्ञ अधिवक्ता केशवराज जोशीले जानकारी दिए ।

संविधानको धारा २२५ मा गाउँ सभा र नगर सभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुने र त्यस्तो कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्काे गाउँ सभा र नगर सभाको निर्वाचन सम्पन्न गर्नुपर्ने उल्लेख छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ मा स्थानीय गाउँपालिका र नगरपालिकाका सदस्यको निर्वाचन गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअगाडि हुने उल्लेख छ । यो ऐन संशोधन गरेर निर्वाचन गर्ने गठबन्धनको योजना छ ।
संविधानको धारा १ मा संविधान मुल कानुन भएको र यस संविधानसँग बाझिने कानुन बाझिएको हदसम्म अमान्य हुने उल्लेख छ । यसैलाई आधार बनाएर सरकारले संविधानसँग बाझिएको ऐन संशोधन गर्नेछ ।

गठबन्धनमा रहेका दलहरूबीच तीन चरणबाट गठित पालिकाहरूको कार्यकाल पूरा भएपछि मात्र निर्वाचन गर्ने सैद्धान्तिक सहमति छ । ०७४ मा ३१ वैशाख, १४ असार र २ असोजमा स्थानीय तहको निर्वाचन भएको थियो । २ असोजलाई स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिने मिति मान्ने र संविधानअनुसार स्थानीय निर्वाचनमा जाने गठबन्धनको तयारी छ ।

निर्वाचन आयोगले ५ जेठमा स्थानीय तहको पदाधिकारीको कार्यकाल सकिने भन्दै स्थानीय तह निर्वाचन ऐन, २०७३ अनुसार सरकारलाई १४ र २२ वैशाखमा निर्वाचनको मिति तोक्न प्रस्ताव गरेको थियो । तर, तीन चरणमा स्थानीय तहको निर्वाचन भएकाले कुनलाई आधिकारिक मान्ने अनिश्चितता कायमै छ । गठबन्धनले ३१ वैशाखलाई आधिकारिक समय मान्न अस्वीकार गरेको छ ।

गठबन्धनमा सहमति गर्नुअघि उनीहरूले महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित कानुनविद्सँग परामर्श गरेका थिए । परामर्शमा पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता गोविन्द बन्दी सहभागी थिए । कानुनविद्हरूसँग प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपा संघीय परिषद् अध्यक्ष भट्टराईलगायतले छलफल गरेका थिए ।

छलफलमा सहभागी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कानुनविद्हरूले संविधानसँग बाझिएको कानुन संशोधन गर्न सुझाव दिएको बताए । ‘स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ र संविधानको धारा २२५ मा उल्लेखित स्थानीय तहसम्बन्धी व्यवस्था बाझिएको देखिएकाले संविधानको धारा १ बमोजिम संविधानसँग बाझिएको कानुन बाझिएको हदसम्मको कानुनको व्यवस्था अमान्य हुन्छ, त्यसअनुसार कानुन संशोधन गर्ने सुझाव प्राप्त भएको छ,’ मन्त्री कार्कीले सञ्चारकर्मीहरूसँग भने ।

त्यस्तै, पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले स्थानीय तहका सबै पदाधिकारीले संविधानअनुसार पाँचवर्षे कार्यकाल पूरा गरेपछि चुनाव गर्ने गरी संविधानसँग बाझिएको स्थानीय निर्वाचन ऐन संशोधन गर्न सुझाव दिइएको बताए । उनले सबैभन्दा प्रमुख संविधान रहेको र संविधानअन्तर्गत कानुन बनेका हुनाले बाझिएको हकमा एकरूपता ल्याउन गठबन्धनका नेताहरूलाई सुझाव दिएको बताए ।

ऐनलाई पहिला संविधानअनुकूल बनाएर निर्वाचनमा जानुपर्ने श्रेष्ठको भनाइ छ । ‘संविधानले नै पाँचवर्षे कार्यकाल भनिसकेपछि संविधानभन्दा माथि कोही छ त ? ऐन त हुन सक्दैन । स्थानीय निर्वाचन ऐन संविधानसँग बाझिएको छ, त्यसैले ऐनलाई पहिला संविधानअनुकूल बनाउनुपर्छ भन्ने सुझाव दिएका छौँ,’ श्रेष्ठले भने । ऐनले स्थानीय तहको निर्वाचन समयमा सम्पन्न हुन नसकेमा हुने जनप्रतिनिधिको रिक्तताको विषयमा संविधान तथा कानुनले परिकल्पना नगरेको, स्थानीय तहको कार्यभार प्रदेश तथा संघीय सरकारले सञ्चालन र व्यवस्थापन गर्ने संवैधानिक एवं कानुनी प्रावधान नभएको, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा जननिर्वाचित पदाधिकारीबाहेक अन्य कुनै तवरले स्थानीय सरकार सञ्चालन तथा व्यवस्थापनको वैकल्पिक व्यवस्थावारे केही बोलेको छैन ।

ऐनमा स्थानीय तहका पदाधिकारीको म्याद थपको कुनै प्रावधान नहुँदा वैकल्पिक पद्धतिबाट स्थानीय सरकार सञ्चालन हुन सक्ने नदेखिएको र स्थानीय तहमा वार्षिक बजेट स्वीकृति, स्थानीय सञ्चित कोष व्यवस्थापन, बजेट खर्चको अख्तियारी दिने, कानुन निर्माण प्रक्रिया, योजना तर्जुमा, कार्यान्वयन र अनुगमन कार्य सञ्चालन हुन नसक्ने आयोगको बुझाइ छ । । तर, कानुन संशोधनले यो समस्या पनि हल गर्ने गठबन्धनको विश्वास छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले एक वर्षभित्र तीनै तहको चुनाव हुने बताइसकेका छन् । ‘एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने दायित्व सरकारमाथि रहेको छ । निर्वाचनका पूर्वतयारीका काम सम्पन्न गर्न म सम्बन्धित सबैसँग अनुरोध गर्न चाहन्छु,’ प्रधानमन्त्रीले शुक्रबार देशवासीका नाममा गरेको सम्बोधनमा छ, ‘आगामी एक वर्षभित्र तीनै तहको निर्वाचन गर्नुपर्ने कुरालाई मध्यनजर गरी सरकारले निर्वाचनका पूर्वतयारीका कार्यहरू अघि बढाइरहेको छ ।’


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News