हिमाली जिल्ला मुस्ताङमा संघ तथा प्रदेश सरकारबाट आर्थिक वर्ष २०७८\०७९ का लागि विनियोजित कुल पुँजिगत विकास खर्च १ अर्व ९७ करोड ३४ लाख मध्ये चालु आवको ६ महिना अवधिमा ५४ करोड ७६ लाख अर्थात २७ दशमलव ७४९ प्रतिशत खर्च भएको छ। यस्तै,संघ तथा प्रदेशको चालु खर्च २ अर्ब ३५ करोड ८३ लाख मध्ये १ अर्ब १७ लाख अर्थात ४२ दशमलव ४८ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ।
मुस्ताङमा संघीयतर्फ २३ वटा र प्रदेशतर्फ ९ वटा कार्यालय छन्। यी कार्यालयहरुका लागि विनियोजित भएको कुल बजेटको ३५ दशमलव ७७ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक डोलेश्वर अर्यालले जानकारी दिए। उनका अनुसार संघीयतर्फको पुँजिगत बजेट १ अर्ब ५७ करोड ५० लाख मध्ये ६ महिनाको अवधिमा ४४ करोड ६५ लाख ७० हजार अर्थात २८ दशमलव ३५ प्रतिशत खर्च भएको छ। यस्तै संघीय चालुतर्फ २ अर्ब १ करोड ९४ लाख मध्ये ९१ करोड ३१ लाख अर्थात ४५ दशमलव २२ प्रतिशत खर्च भएको उनले बताए। प्रदेशतर्फ कुल पँुजिगत विकास खर्च ३९ करोड ८३ लाख मध्ये १० करोड १० लाख अर्थात २५ दशलव ३६ प्रतिशत खर्च भएको छ भने चालुतर्फ ३३ करोड ८९ लाख मध्ये ८ करोड ८५ लाख अर्थात २६ दशमलव १४ प्रतिशत खर्च भएको कोष तथा लेखा नियन्त्रक अर्यालको भनाई छ।
संघीय कार्यालय अन्तर्गत कुल पँुजिगत बजेट १ अर्ब ५७ करोड मध्ये उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालिगण्डकी करिडोर कार्यालयलाई १ अर्ब ३८ करोड २९ लाख विनियोजन गरिएको थियो। करिडोरलाई छुट्याईएको बजेट मध्ये ६ महिनामा ४० करोड २९ लाख अर्थात २९ प्रतिशत खर्च भएको कालिगण्डकी करिडोर कार्यालय जोमसोमका लेखापाल ईश्वर गैरेले जानकारी दिए। उनका अनुसार आयोजनाको पर्वत मालढुङ्गादेखि कोरला सम्मको निर्माणधिन १२ वटा पक्की पुलका लागि ८ करोड बजेट मध्ये ४ करोड १२ लाख अर्थात ५१ प्रतिशत खर्च भएको हो।यस्तै,सडक स्तरोन्नतितर्फ विनियोजन भएको १ अर्ब ३० करोड बजेटमा ३६ करोड १७ लाख अर्थात २८ प्रतिशत खर्च भएको लेखापाल गैरैले बताए।चालु वर्षमा विनियोजन भएको बजेट मध्ये सन्तोषजनक रुपमा बजेट खर्च भएको उनले बताए।
यस्तै प्रदेश कार्यालय अन्तर्गत चालु आर्थिक वर्ष २०७८\०७९ का लागि खानेपानी,जलश्रोत तथा सिचाई सवडिभिजन कार्यालय मुस्ताङलाई विनियोजन भएको १६ करोड ६६ लाख मध्ये ६ महिनाको अवधिमा ४ करोड अर्थात २४ प्रतिशत खर्च भएको छ। कार्यालयका लेखापाल महेन्द्र थकालीका अनुसार पुँजिगत विकास खर्च १५ करोड ४७ लाख मध्ये ३ करोड ५७ लाख अर्थात २३ दशमलव १४ प्रतिशत खर्च भएको हो। यस्तै चालुतर्फ १ करोड १९ लाख मध्ये ४२ लाख अर्थात ३५ प्रतिशत खर्च भएको छ।
सघीय राजश्वमा वृद्धि
हिमाली जिल्ला मुस्ताङमा गतवर्षको तुलनामा संघ तथा प्रदेश राजश्व दोब्बरले वृद्धि हुने अनुमान गरिएको छ। आर्थिक वर्ष २०७७\०७८ मा १९ करोड ५१ लाख ६५ हजार राजश्व सकलन भएकोमा चालु वर्षको ६ महिनाको अवधिमा २० करोड ४४ लाख ९३ हजार राजश्व सकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय मुस्ताङले जनाएको छ। जसमध्ये संघीय राजश्व १९ करोड ८३ लाख २४ हजार र प्रादेशिक राजश्व ६१ लाख ६८ हजार सकलन भएको हो। मुस्ताङमा बर्सेनि संघ तथा प्रदेश राजश्व दोब्बरले वृद्धि हुन थालेको छ। आर्थिक वर्ष २०७६\०७७ मा १० करोड ३७ लाख ५ हजार राजश्व सकलन भएको थियो।गत वर्ष संघीय तर्फ १८ करोड २३ लाख र प्रदेशतर्फ १ करोड २८ लाख राजश्व सकलन भएको थियो।राजश्व तथ्यांक हेर्दा गत वर्षको तुलनामा संघीय राजश्व ६ महिनाको अवधिमा १ करोड ६० लाख वृद्धि भएको हो। प्रदेश राजश्व भने सन्तुलित देखिएको छ। मुस्ताङमा राजश्व वृद्धि हुनुको कारण सरकारी निकायको खर्च वृद्धि र राजश्व प्रणालीमा भएको सुधार मुख्य हुन्।
मुस्ताङका स्थानीय तहको ६ महिने खर्च
मुस्ताङमा ५ स्थानीय तह छन्। स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल यही जेठ ५ गते समाप्त हुँदैछ। तथापी यहाँका स्थानीय तहका पुजिगत खर्च अपेक्षा गरेअनुरुप हुन नसकेको पाईएको छ। चालु आवको श्रावणदेखि मंसिरसम्मको विकास आयोजनाको काम सञ्चालन हुनसक्छ। पुस, माघ र फागुन महिनामा यहाँ विकासको काम प्राय ठप्प हुन्छ।
मुस्ताङ सदरमुकामसमेत रहेको घरपझोङ गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ का लागि विनियोजित ३० करोड १९ लाख बजेट मध्ये ६ करोड १३ लाख अर्थात २० दशमलव ४१ प्रतिशत बजेट ६ महिनामा खर्च गरेको छ। कुल पुँजिगत बजेट १४ करोड १२ लाख मध्ये १ करोड ३८ लाख अर्थात ९ दशमलव ७७ प्रतिशत खर्च गरेको हो। यस्तै चालुतर्फ १६ करोड ७ लाख मध्ये ४ करोड ७८ लाख खर्च भएको घरपझोङ गापाले जनाएको छ। उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपािलकाकाे कुल बजेट २८ करोड २० लाख मध्ये ७ करोड २४ लाख ९२ हजार अर्थात २४ प्रतिशत बजेट खर्च गरेको छ। जसअनुसार पुँजिगतर्फ विनियोजित १५ करोड १९ लाख मध्ये ३ करोड ५१ लाख ८० हजार अर्थात २३ दशमलव १६ प्रतिशत खर्च गरेको छ भने चालुतर्फ १३ करोड १ लाख मध्ये ३ करोड ७३ लाख अर्थात २८ दशमलव ६८ प्रतिशत खर्च गरेको छ।
यसैगरी वारागुङ मुक्तिक्षेत्र गापाले कुल बजेटको ३४ करोड ५४ लाख मध्ये ७ करोड ५८ लाख अर्थात २१ दशमलव ९५ प्रतिशत खर्च गरेको छ। पुँजिगततर्फ ११ करोड ५५ लाख मध्ये ५३ लाख ५६ हजार अर्थात ४ दशमलव ६७ प्रतिशत मात्र खर्च गरेको छ। चालुतर्फ २२ करोड ९९ लाख मध्ये ७ करोड ४ लाख ६७ हजार अर्थात ३० दशमलव ६४ प्रतिशत खर्च भएको छ।यस्तै उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापाले २६ करोड मध्ये चालु र पुँजिगततर्फ समान ४० प्रतिशत खर्च गरेको दावी गरेको छ।
मुस्ताङको थासाङ गाउँपालिकाकी लेखा प्रमुख सकुन्तला अधिकारीसंग चालु आर्थिक वर्षको ६ महिने खर्च विवरण टेलिफोन मार्फत माग गरिएको थियो। तर,लेखा प्रमुख अधिकारीले गाउँपालिकाको सिस्टममा समस्या आएकाले कुनै पनि विवरण नखुलेको भन्दै खर्च विवरण उपलब्ध गराउन असमर्थ रहेको जनाईन्। मुस्ताङका ५ स्थानीय तह मध्ये ४ वटा स्थानीय तहले चालु वर्षको ६ महिने खर्च विवरण पेश गर्दा थासाङ गाउँपालिकाले मात्रै खर्च विवरण पेश गर्न पन्छिएको हो।