जैमिनीबाट दुई वर्षमा एक हजार सात सय नौ ले गाउँ छाडे

जैमिनीबाट दुई वर्षमा एक हजार सात सय नौ ले गाउँ छाडे

  • Kanchan News

  • मङ्लबार, जेष्ठ ७, २०८२

  • 38
    SHARES
जैमिनीबाट दुई वर्षमा एक हजार सात सय नौ ले गाउँ छाडे

बागलुङ । बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन्भने घर जीर्ण बन्दै गएका छन् । सेवा सुविधाको खोजीमा गाउँबाट शहर बजार झर्ने प्रचलन बढेको हो । जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाका रुपमा जैमिनीलाई लिइन्छ ।

जैमिनीबाट पछिल्लो दुई वर्षमा ४८२ घरपरिवारका एक हजार ७०९ जनाले गाउँ छाडेका छन् । विसं २०८० मा २६३ घरपरिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन् भने विसं २०८१ मा २१९ घर परिवारबाट ७६२ जनाले गाउँ छाडेका छन् । दुई वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । विक्रम संवत् २०८० वर्ष नौ परिवारका ४२ जना आए र विसं २०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् ।

नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख ताराप्रसाद पौडेलका अनुसार सबैभन्दा बढी वडा नम्बर ८ र कम वडा नम्बर ६ बाट बसाइँसराइ भएको छ । वडा नम्बर ८ बाट दुई वर्षको अवधिमा १०७ घर परिवारबाट ४०३ जनाले बसाइ सरेको पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडा नम्बर १ बाट ४२ घरका १५७, वडा नम्बर २ बाट ७७ घरका २५८, वडा नम्बर ३ बाट ३४ घरका १०० र वडा नम्बर ४ बाट ५२ घरका १९१ जनाले बसाइँसराइ गरेका छन् ।

यस्तै वडा नम्बर ५ बाट २४ घरका ८३, वडा नम्बर ६ बाट १४ घरका ५५, वडा नम्बर ७ बाट ५४ घरका १८६, वडा नम्बर ९ बाट ३९ घरका १२९ र वडा नम्बर १० बाट ३९ घरका १४७ जनाले बसाइँसराइ गरेको पौडेलले बताउनुभयो । जैमिनीबाट बसाइँसराइ गरेर अधिकांश चितवन, नवलपरासी र बुटवलमा गएको उहाँको भनाइ छ ।

नगर उपप्रमुख हरिहर शर्माले बसाइँसराइ रोक्नका लागि स्थानीयलाई गाउँमै उद्यमी बनाउने र आत्मनिरर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । बस्ती बस्तीसम्म सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास गरेको उहाँको भनाइ छ । गाउँमा ठूलो सम्भावना हुँदा हुँदै पनि धेरैले सहर बजार रोज्ने गरेको शर्मा बताउनुहुन्छ ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News