पोखरा महानगरबासीलाई शुद्ध खानेपानी पुर्याउने लक्ष्यका साथ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा बनिरहेको पोखरा खानेपानी सुधार आयोजनाका संरचना उद्घाटन भएको छ ।
खानेपानी मन्त्री प्रदीप यादवले शुक्रबार उक्त आयोजनाको अन्तर्गत बनिसकेका संरचनाको उद्घाटन गरेका हुन् । आयोजना उद्घाटन भएसँगै अब दैनिक ४ करोड लिटर शुद्ध र सुरक्षित खानेपानी ट्रिटमेन्ट प्लान्टले प्रशोधन गरी पोखरा पठाउने आयोजनाले जनाएको छ ।आयोजनाको संरचना उद्घाटन गर्दै मन्त्री यादवले पर्यटन राजधानी पोखराका बासिन्दाले शुक्रबारदेखि नै धाराबाट शुद्ध खानेपानी पाउने दाबी गरे ।उक्त संरचना उद्घाटन भएसँगै पहिलो चरणमा पोखरा महानगरपालिका–१९ वडामा रहेका करिब ४ लाख नागरिकलाई शुद्ध खानेपानीको सुविधा पाउने आयोजनाले जनाएको छ । यो आयोजनासँगै अब पोखराबासीले माछापुच्छ्रे गाउँपालिमा पर्ने मर्दी खोलाको प्रशोधित पानी पाउने भएका छन् ।