
दीपक मनाङ्गे भनी चिनिने गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजीव गुरुङलाई सर्वोच्च अदालतले पाँच वर्ष कैद सजाय सुनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले ज्यान मार्ने उद्योगमा गुरुङलाई कैद सजाय सुनाइएको जानकारी दिए।
पाँच वर्षको कैद सजायमध्ये मनाङ्गेले दुई वर्ष आठ महिना कैद यसअघि नै भुक्तान गरिसकेका छन्।
मनाङ्गेविरुद्ध चक्रे मिलन भनिने गुन्डानाइके मिलन गुरुङमाथि विसं २०६१ मा काठमाण्डूको महाराजगन्जमा खुकुरी प्रहार गरेको अभियोगमा मुद्दा दायर भएको थियो।
मनाङ्गेसहितको समूहले २०६१ साल वैशाख ३१ गते एउटा रेस्टुराँमा खाना खाँदै गरेका मिलन गुरुङको समूहमाथि आक्रमण गरेको उजुरी परेको थियो।
मनाङ्गेको समूहले ज्यान लिने उद्देश्यले आक्रमण गर्दा आफ्ना पति मिलन गुरुङको बायाँ हात छिनालिदिएको भन्दै चक्रे मिलनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन्। तर मनाङ्गेले घटना भएको समयमा आफू वीरगन्जमा रहेको दाबी गर्दै त्यहाँको एक अस्पतालमा उपचार गरेको भन्ने चिकित्सकको बकपत्र अदालतमा पेस गरेका थिए।