सहकारीको रकम अपचलनको मुद्दामा पक्राउ परेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीलाई जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ । रास्वपा र सहकारी पीडितको प्रदर्शनले अप्ठ्यारो पार्ने देखिएपछि अदालत खुले लगत्तै रवि र छविलाई अदालत उपस्थित गराइएको कास्की प्रहरीले जनाएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामार्फत अपचलन गरेको अभियोगमा उनलाई सहकारी ठगी तथा संगठित अपराधको मुद्दा लगाइएको छ । सोही मुद्दामा पहिलो पटक दिइएको म्याद सकिएपछि प्रहरीले आज फेरि उनलाई अदालतमा उपस्थित गराइएको हो ।