नारीको महान् पर्व हरितालिका तीजका कारण सामान किनेमेल गर्नेको भिडले सहरबजार तातिरहेको छ । ओइलाएको बजारलाई तीजले ब्युँताउने काम गरेको छ । सहरका अधिकांश फेन्सी पसल, पार्टी प्यालेस, कस्मेटिक सुनचाँदी पसल, फुटपाथदेखि सुपरस्टोरसम्म तीजको किनमेल गर्नेको भिड लागेको छ । अझ जताजतै घन्किरहेको तीजको भाकाले बजारमा विशेष रौनक छाएको देखिन्छ । नेपाली महिलाले हर्ल्षोल्लासका साथ मनाउने तीजका अवसरमा हुने फेसन सो, सांस्कृतिक कार्यक्रम, फुड फेस्टिबलजस्ता कार्यक्रमले समेत बजारमा किनमेल गर्ने महिलाको भिडभाड बढ्दै गएको पाइन्छ। महिलाले गर्ने सोह्रशृंगारदेखि धार्मिक सामग्री, दर, सौभाग्यका उपहार किनमेल गर्नेको संख्या वृद्धि भएको व्यापारी बताउँछन्। फलफूल एवं मिठाइ पसलमा पनि विशेष भिडभाड देखिन्छ ।
सबैभन्दा बढी भिड त सुनपसलमा पाइन्छ । गरगहनाले सजिएर तीजमा हिँड्ने महिलाको बेग्लै जमात रहेकाले सुन तथा चाँदीपसलमा ग्राहकको भिड रहने गरेको छ । यस वर्ष सुनको अभाव रहने सुरुआती लक्षण देखिए पनि हल्लाभन्दा उल्टो बजारमा छ्यापछ्याप्ती सुन पाइएको र स्थिर भाउका कारण व्यापार वृद्धि भएको छ ।
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो।यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरूपले नेपालभर मनाइन्छ भने भारतका कुनै कुनै क्षेत्रमा पनि मनाइन्छ। आद्य शक्ति भगवान शिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो बर्त राखेकी थिइन् त्यो दिन यही हरितालिका तीजको दिन थियो। त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउदै आएका छन् भन्ने विश्वास गरिन्छ ।
हिन्दू धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन्। पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिइकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर बर्तको कारण शिवजी प्रकट भई ’चिताएको कुरा पुगोस्’ भनी आशीर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो। त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो। सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।
यो चाडमा माइतीले (बाबु आमा,दाजुभाइ) छोरी÷चेली लाई घरमा गई लिएर आउने वा बोलाएर मीठा–मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने–बस्ने चलन रहेको छ। यस दिन विशेष महत्त्वकासाथ दर खाने गरिन्छ। यही दर खाने दिनबाट नै तीज पर्वको आरम्भ भएको मानिन्छ। दरमा ठाउँअनुसार विभिन्न मिठा–मिठा परिकार साथै खिर, ढकने, सेलरोटी, केरा लगायतका खाना, फलफूल खाने गरिन्छ ।
आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राति ढिलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको थियो।
तीजको दिनका अतिरिक्त गणेश चतुर्थी र ऋषिपञ्चमीलाई पनि तीज पर्वकै रूपमा मनाइन्छ।ृ६े खास गरी यसमा स्त्रीहरूले पतिको निम्ति निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन्। यो दिन महिलाहरू बिहान चाँडै उठी नुहाई धुवाई गरेर दिनभरि जल, अन्न ग्रहण नगरी बर्त बस्ने गर्दछन्। बेलुकीपख घर, गाउँ र छिमेकका महिलाहरू भेला भई पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । निर्जला व्रत भनिए पनि आजभोलि महिलाहरू मध्यान्हमै पूजा, आराधनापश्चात् फलफूल ग्रहण गर्ने गर्दछन् । कतिपय महिलाहरू नजिक रहेको शिवमन्दिरमा गई शिव आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्दछन् । काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा महिला बर्तालुहरूको ठूलो भिड हुने गर्दछ ।
हाम्रो समाजमा तीज महिलाहरूले मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउनु पर्नेहुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीजपर्वको गहन महत्त्व रहेको छ । तीजमा महिलाहरूलाई मीठा मीठा भोजनका परिकारहरू खुवाइन्छ, नयाँ लुगा कपडा दिइन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीर्घायुको कामना गर्दै बर्त बसी नाचगान र मनोरञ्जन गर्छन भने अविवाहिताहरू सुयोग्य वरको आशा राखी बर्त बस्छन । बर्तको समयमा महिलाहरूले तीजको बर्तकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मण ब्राह्मणीहरूलाई दानदक्षिणा गर्ने चलन रहेको छ ।
मूलतः नेपालमा जब १९८० पछि र विशेषतः १९९० पछि संसारभरि भूमण्डलीकरण र नवउदारवादको अर्थनीति सुरु भयो, त्यसपछि नेपालमा मात्र नभएर संसारभरिका सांस्कृतिक र धार्मिक गतिविधिलाई उपभोक्तावादी बनाउने गुरुयोजनाअन्तर्गत चलाउन थालियो । यही क्रममा तीज पनि आयो । यसले राजनीतिक पार्टीहरूलाई पनि लपेटमा ल्याएको छ । अब व्यापारीहरू त लाग्ने नै भए । तीज त्यसपछि उपभोक्तावादी चाड बन्यो । सबभन्दा बढी गहना प्रदर्शन गर्ने, सबभन्दा बढी खाने, सबभन्दा बढी लुगा देखाउने र एक महिनाअघि देखि नै समय बढी खर्च गर्ने चाड बन्यो यो । त्यति नै बेला नवउदारवादी अर्थनीतिका कारण नेपालमा मध्यमवर्गीय एउटा नोकरशाही वर्ग देखाप¥यो । उसलाई फास्टफुड मन पर्ने, बेलुका गएर कतै खानुपर्ने ! फर्निचर उद्योग, बियरका कारखाना, रक्सीका ब्रान्डहरू थपिँदै गए । यसरी उपभोक्तावाद विस्तार भयो । त्यसको प्रभावमा अहिले तीजसँगै नेपालका सबै पर्व तानिएका छन् । संस्कृति र प्रचलनको स्तरमा पर्व मनाउने कुरा त ठीकै छ । त्यसभित्रका धार्मिक चिजहरूलाई कटौती गर्दै जाने र विशुद्ध सांस्कृतिक रूप दिने त्यो अर्कै कुरा हो ।अहिले समाजका निम्ति एउटा नयाँ कलेवर थपिएको छ– संस्कृति जोगाउने कलेवर । यो कलेवरभित्र उपभोक्तावादलाई व्यवस्थित ढंगले बजारीकरणतिर लगिँदैछ । नेपाली समाजका निम्ति यो प्रवृत्ति निकै नै घातक छ ।
बजारको कब्जामा नेपालका सांस्कृतिक पर्वहरू गइसके । अब कति जान दिने भन्ने मात्र हो । व्यापारीले एक वर्षअघिदेखि नै कति किलो के ल्याउने भन्ने कुराको हिसाबकिताब गर्न थालिसके । त्यसका लागि पत्रिकामा कति विज्ञापन दिने, टेलिभिजनमा कुन विज्ञापन दिने, कुन हिरोइनलाई कुन ठाउँमा ल्याएर फोटा छापिदिनेसम्म सबै व्यवस्थित हुन थालिसक्यो । मान्छेको मानसिकतै किनिसकियो ।
नेपाली समाजका सबै पर्व गीतसँग सम्बन्धित छन् । गीत नभएको पर्व हुँदैन । किनकि, त्यो जनजीवनको हजारौँ वर्षको अभ्यासबाट बनेको हुनाले त्यसको गीतसंगीत हुन्छ । तर, अहिले १९९० पछि संगीत स्वयं उपभोक्तावादतिर गयो । यो लोकगीत भनेर जुन गाइएको छ, त्यहाँ कहाँ लोक छ ? त्यो लोकगीत नै होइन नि । त्यो त पहिले पहिलेका लय टापटिप पारेर मान्छेलाई केही बेरका निम्ति तरंगित पार्ने चिज मात्र हो । लोकगीत भनेको त लोकले बुझेको हुनुपर्छ । लोकलाई थाहा नभएको गीत ल्याएर लोकगीत हुन्छ ? त्यो त कोठामा बनाएर बजाएको हो नि । योे संगीत क्षेत्र त सबैभन्दा बढी उपभोक्तावादी भएर निक्लिसक्यो । व्यापारीले त जे बिक्छ, त्यही बेच्दिने त हो । यहाँ मान्छे त बिकिरा’छ तीजमा । यति पैसा दिन्छु गीत गाइदिन आऊ, यदि पैसा दिन्छु नाचिदिन आऊ भनेर मान्छे नै किन्दिरा’को छ तीजमा । अनि, गीतसंगीतको के कुरा गर्नु ?
हामी उपभोक्तावादी संस्कृतिबाट बढी ग्रसित छौं। तर चाडपर्वहरू बजारले मात्रै कब्जा गरेको छैन। चाडपर्वलाई हिजो कुनैबेला राजनीतिले पनि कब्जा गरेको थियो। अहिले पनि तीजको सन्दर्भ पारेर छलफल तथा बहस हुने गर्छ। आजपनि तीजमा सबैजना एक ठाउँ बसेर नाचौं भन्ने गर्छौं। तीजलाई यसरी पनि हामीले उपभोग गरिरहेका छौं ।
अहिले मानिसको बजारसँग सम्बन्ध स्थापित भएको छ। केही समय अगाडिसम्म छड्के तिलहरी तीजको प्रतिकको रुपमा देखिन्थ्यो भने अहिले रातो सारी अनिवार्य जस्तै भइसकेको छ । रातो सारी तीजको पहिचानको रुपमा आउन थाल्यो। त्यसैले पर्व मनाउने क्रममा धेरैकुरा बजारसँग जोडिएको छ। बजारमा जे कुरा पाइन्छ त्यसका आधारमा त्यो वस्तुको महत्व पर्वमा देखिन्छ। रातो सारी जसरी पहिचान बन्यो, त्यसैगरी फेशन पनि बन्दैछ ।
सबै महिलाले उस्तै रंगको सारी लगाउने मात्रै नभएर उस्तै बुट्टा भएको कपडा लगाउने गरेको पनि देखियो। तीजमा मात्रै होइन अन्य चाडपर्वमा पनि चाड अनुसारका भेषभुषा लगाउने प्रचलन आइसक्यो। हाम्रो समाजमा जति पनि कुरा स्थापित हुँदै गएका छन्, ती बजारसँगै जोडिएका छन् । मानिसहरूका सम्बन्ध, व्यवहार र मानिसको आकर्षण पनि बजारसँग जोडिएको छ। हिजो भनिएको पतिको नाममा व्रत बस्ने कुरा पनि अब बिस्तारै तोडिँदै गएको छ। अब यसलाई रमाइलोका लागि मान्ने चलन सुरु भएको छ।पछिल्लो ८÷१० वर्षयता तीज मनाउने तरिका फरक भएको देख्न सकिन्छ ।
अहिले कति मानिसहरू पार्टी प्यालेस तथा होटलमा तीज मनाइरहेका छन् । यसको मतलव बजारसँग मानिसको पहुँच बढ्दै जाँदा पर्वमा पनि मानिसले बजारलाई प्रयोग गर्छ । यदि यसलाई बजारले आम्दानी गर्छ भन्ने दृष्टिकोणबाट हेर्ने हो भने स्वभाविक रुपमा बजारले अधिकतम रुपमा हामीलाई शोषण गरिरहेको छ । चाडपर्वका बेला सामाजिक दबाबले पनि महँगो बजारमा सर्वसाधारणको आर्थिक भार बढ्छ । बजारमा निगरानी र उपभोक्ता हितमा सरकारी संयन्त्रले काम नगरे कालोबजारीले चलखेल गर्दै उपभोक्ता लुट्ने गरेको समेत पाइन्छ ।