गण्डकीमा मन्त्रालयको संख्या बढाएर सरकार पुनर्गठन गर्न कांग्रेस र एमाले सहमति नजिक पुगेका छन् । हाल ७ वटा मन्त्रालय रहेकामा अब दुई वटा थप्न दुई दल तयार देखिएका हुन् ।कांग्रेस संसदीय दलका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले मन्त्रालयको संख्या बढाउन सहमति जुटेको बताए । उनका अनुसार ९ मध्ये कांग्रेसले मुख्यमन्त्रीसहित ५ र एमालेले ४ मन्त्रालय पाउने छन् ।
मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समर्थन गरेका स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) र नेसपाका सांसद फणीन्द्र देवकोटालाई कांग्रेसले ५ जनाभित्रै समेट्ने भएको छ । हाल कांग्रेसका तर्फबाट मुख्यमन्त्री पाण्डे, आर्थिक मामिला मन्त्री टकराज गुरुङ र सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले निरन्तरता पाउने छन् । मनाङे हाल भौतिक पूर्वाधार र देवकोटा ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री छन् ।
एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्दबहादुर नेपालीले कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँट करिब टुंगिएको बताए । ‘अब सरकार पुनर्गठनमा धेरै लामो समय लाग्दैन,’ उनले भने, ‘एमालेका कारणले अब ढिला हुँदैन ।’ कांग्रेस–एमालेको समझदारी अनुरूप सामाजिक विकास मन्त्रालयबाट युवा तथा खेलकुद मन्त्रालय फुटाएर मनाङेलाई दिने तयारी छ । मनाङेले अहिले सम्हालेको भौतिक पूर्वाधार मन्त्रालय भने एमालेले पाउनेछ ।
संविधानतः कुल सांसद संख्याको २० प्रतिशत संख्यामा मन्त्री बनाउन सकिन्छ । गण्डकीमा ६० सदस्यीय प्रदेशसभा रहेकाले १२ सदस्यीयसम्म मन्त्रिपरिषद् बनाउन संविधानले रोक्दैन । पहिले १२ वटा मन्त्रालय रहेकामा डेढ वर्षअघि एमालेका खगराज अधिकारी मुख्यमन्त्री भएपछि मन्त्रालयको संख्या घटाएर ७ मा सीमित गरिएको थियो कान्तिपुर दैनिकमा खबर छ।