यस्तो छ सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पिएसको राजनितिक जिवन

यस्तो छ सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पिएसको राजनितिक जिवन

  • Kanchan News

  • सोमवार, असार ३२, २०८१

  • 174
    SHARES
यस्तो छ सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पिएसको राजनितिक जिवन

नेकपा एमालेका उपमहासचिव तथा प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनको राजनितिक जिवन यस्तो छ ।

ईशानेश्वर प्रमोद हाई स्कुल भोर्लेटारबाट २०२७ सालमा विद्यार्थी राजनीति सुरु गरेका गुरुङले २०४३ पछि सक्रिय राजनीति थालेका हुन् । उनी २०३४ मा अमृत साइन्स क्याम्पसबाट बीएस्सी सकेर आफ्नै गाउँमा रहेको बुद्धोदय माध्यमिक विद्यालयमा प्रधानाध्यापक बने । २०४० मङ्सिरमा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको जिल्ला अध्यक्ष बनेका उनी शिक्षणमै हुँदा आन्दोलनमा पटकपटक हिरासतमा परे । प्रधानाध्यापकबाट राजीनामा दिएर गुरुङ २०४३ मा जनपक्षीय उम्मेदवार बने, तर उनी पराजित भए ।

पृथ्वीसुब्बाले २०३८ मा नेकपा एमाले इलाका पार्टी सङ्गठन कमिटीको तर्फबाट टक्सारमा ज्याला र बनी वृद्धिका लागि हली हड्तालको नेतृत्व र २०३९ सालमा कृषि मजदुरहरूको ज्याला वृद्धिका लागि घाम्राङमा किसान आन्दोलनको नेतृत्व गरेका थिए ।

उनले २०३७ साल फागुन ७ गते नेकपा मालेको पार्टी सदस्यता पाए । २०४० सालमा नेकपा माले जिल्ला सङ्गठन कमिटीको सदस्य बने । २०४८ मा भएको प्रथम जिल्ला अधिवेशनबाट नेकपा एमाले जिल्ला कमिटी सचिवमा निर्वाचित भएका उनी २०५१ मा पुनः सचिवमा दोहोरिएका थिए ।

पार्टीको छैटौं महाधिवेशनबाट नेकपा एमाले केन्द्रीय कमिटीको वैकल्पिक सदस्यमा निर्वाचित भए । २०५४ देखि २०५९ सम्म गण्डकी अञ्चल समन्वय कमिटीको सचिव, २०६० मा नेकपा एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनीत भए । २०६१ देखि २०७० सालसम्म केन्द्रीय जातीय मामिला विभाग प्रमुखको जिम्मेवारी सम्हाले ।

२०६१ देखि २०७० सम्म आदिवासी जनजाति फाँट इन्चार्जको रूपमा काम गरेका गुरुङले २०६५ मा भएको आठौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भए । २०६५ मा पार्टी पोलिटब्युरो सदस्य र २०६९ देखि २०७१ सम्म केन्द्रीय कार्यालयको सचिव रहेका पृथ्वीसुब्बा २०७१ मा भएको नवौं महाधिवेशनबाट सचिव र दशौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भए ।

२०४८ मा पहिलो पटक निर्वाचन लड्दा पराजित भएका पृथ्वीसुब्बाले २०५१ र २०५६ सालमा भएको निर्वाचनमा पनि पराजय भोगे, तर उनी राजनीतिबाट टाढा रहेनन् । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा पार्टीले पराजय व्यहोरे पनि उनले भने १६ वर्षमा पहिलो पटक जीत हासिल गरे । एमाले तेस्रो पार्टीमा खुम्चिँदा पृथ्वीसुब्बा लमजुङ क्षेत्र नम्बर २ बाट कांग्रेसका दिलबहादुर घर्तीलाई पराजित गर्दै पहिलो पटक संसद बन्न सफल भए ।

२०६२/६३ को जनआन्दोलनपछि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा पृथ्वीसुब्बा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका थिए । २०७० सालमा भएको निर्वाचनमा भने उनी पराजित भए । उनी ६७२ मतले कांग्रेस उम्मेदवारसँग पराजित भएका थिए ।

२०७४ मा भएको निर्वाचनमा भने पृथ्वीसुब्बा प्रदेशतिर लागे । उनी लमजुङ प्रदेश ‘ख’ बाट निर्वाचित भए । उक्त निर्वाचनपछि उनी गण्डकी प्रदेशको संस्थापक मुख्यमन्त्री बने । सोमबार उनी सरकारको प्रवक्ता र सञ्चार मन्त्रीको बने ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News