नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्धको पुनरावेदनमा उच्च अदालतले फरक फरक आदेश दिएको छ । सोक्रममा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई छाड्न अस्वीकार गरिएको छ । केहीलाई थुनामै राख्ने, केहीलाई धरौटीमा छाडिएको छ । भने केही प्रतिवादी तारेखमा छाडिएका छन् ।
शुक्रबार पाटन उच्च अदालतका न्यायाधीश प्रकाश खरेल र जनक पाण्डेको संयुक्त इजलासमा खाणलाई छाड्ने विषयमा दुईजनाबीच राय बाझिएको छ । पूर्वगृहमन्त्री खाणलाई २० लाख धरौटीमा छाड्ने जनक पाण्डेको आदेशमा प्रकाश खरेलको राय बाझिएपछि अब अर्को इजलासमा यसको सुनुवाइ हुने भएको छ ।
उच्च अदालत नियमावली तथा ऐनबमोजिम अब तेस्रो न्यायाधीशको एकल इजलासले जनक पाण्डे र प्रकाश खरेलमध्ये कसको राय ठिक भन्ने आदेश गरेपछि खाणको हकमा टुंगो लाग्ने प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।