हराए चर्खे र लिङ्गे पिङ

हराए चर्खे र लिङ्गे पिङ

  • Kanchan News

  • सोमवार, कार्तिक ६, २०८०

  • 123
    SHARES
हराए चर्खे र लिङ्गे पिङ

दशैंको रमझम शुरु भएसँगै गाउँघरमा ‘लिङ्गे पिङ’ खेल्दै रमाउन सुरु भइसक्थ्यो । तर पर्वत लगाएतका प्रदेशका गाउँ–गाउँमा ‘लिङ्गे पिङ’ थापेको कहिँकतै देखिँदैन । दशैंमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ ।

पहाडी तथा ग्रामीण भेगका मानिसहरुले हरेक महिना वा हरेक वर्ष विशेष अवसरहरुमा ‘मेला’ आयोजना गर्थे । त्यही मेलामा मनोरञ्जनको सबैभन्दा महत्वपूर्ण माध्यम थियो ‘लिङ्ग पिङ’ । दशैंमा ‘लिङ्ग पिङ’ खेल्ने परम्परा पनि यसै अन्तरगत शुरु भएको हुनसक्छ । जे होस् दशैंमा ‘लिङ्ग पिङ’को रौनकै छुट्टै हुन्थ्यो ।

पिङ नखेली पनि दशैं मनाइन्छ र ? मनाए पनि त्यसको के अर्थ ? भन्ने लाग्थ्यो । दशैंमा गरिने रमाइलोमा सबैभन्दा ठूलो भूमिका ‘लिङ्ग पिङ’कै हुन्थ्यो । दशैंमा पिङ खेल्नैपर्ने परम्परा कहिले, कहाँ र कसरी सुरु भयो ठ्याक्कै भन्न नसकिए पनि जबदेखि दशैं मनाइयो, पिङ खेल्न पनि उही बेलादेखि नै सुरु भएको मान्न सकिन्छ ।

वर्षमा एकचोटी धर्ती छोड्नैपर्ने मान्यताका साथ हरेक वर्ष कम्तीमा एकपटक बालबालिकादेखि युवा, वृद्ध सबैले पिङ खेल्नैपर्ने चलिआएको चलन बुढापाकाहरु बताउँछन् । केही बर्षअघिसम्म दशैं तिहार जस्ता चाडमा प्रत्येक टोलमा पिङ थापिन्थ्यो । तर पछिल्लो समय गाउँगाउँमा खेलिने ‘लिङ्गे पिङ’को चलन हराउँदै गएको हो ।

दशैंको सुरुवातदेखि थापेको ‘लिङ्ग पिङ’ तिहारसम्मै राखिन्थ्यो । युवाहरु विभिन्न सिलसिलामा गाउँबाट बिहिर जान थालेसँगै दशैंको खुसियालीमा रौनक थप्ने पिङ खेल्ने संस्कृति हराउँदै गएको बुढापाहरुको भनाई छ । दशैंका बेला गाउँका युवाले बालबालिकाको लिंगे पिङ निर्माण गरेर खेल्ने र रमाइलो गर्ने चलन थियो, अहिलेको पुस्तामा त्यो रहर देखिँदैन ।

हरेक वर्ष दशैंमा पिङ लगाउने चलन । अनि पिङ बनाउन केही समय अघिदेखि नै गाउँका टाठाबाठाहरुको सहभागिता । बाँस, लठारो, काम्रो, काठ आदिको व्यवस्थापन गर्न हरेक घरबाट केही रुपैयाँ सङ्कलन गरिन्थ्यो । पिङ लगाउने स्थान पनि प्रायः निश्चित नै हुन्थ्यो । कि साझा चौर या मन्दिरको प्राङ्गण ।

सबैजना मिलेर तयार पारिएको त्यस पिङलाई गाउँकै सम्पदा जत्तिकै महत्व दिइन्थ्यो । दुई प्रकारका पिङहरुको चलन थियो । लिङ्गे पिङ र रोटे पिङ । लिङ्गे पिङ विशेष चाडवाडमा मात्रै निर्माण गरिन्थ्यो । जुनसुकै बेला नबनाइने भएकाले पनि यसको महत्वलाई संस्कृतिले नै जगेर्ना गर्दथ्यो ।

अहिले दशैंमा बाटिँदैनन् बाबियाको लठारो । गाढिँदैनन् बाँसका खम्बाहरु । पहिला पिङ लगाइने चौर पनि सुनसान देखिन्छ । माहोल मौन छ, लिङ्गो कटाउँदा गुञ्जिने ‘चाचाहुइया’ गुञ्जिँदैन आजकल । समयले दशैंलाई आफूसँगै फेरिदिएको छ । अहिलेका पुस्तालाई रोटे र लिङ्गे पिङको महत्वमात्रै होइन यसको आकार र स्वरुपका बारेमा पनि थाहा छैन ।

उनीहरुले सुनेका छन् आमाबुबा वा हजुरबुबा, हजुरमुमाबाट ‘हामी दशैंमा पिङ खेल्थ्यौं । क्या मज्जा आउँथ्यो ।’ यही अभिव्यक्तिले उनीहरुको मस्तिष्कमा छाप पारेको छ ‘दशैंमा पिङ खेलिन्छ ।’ त्यसैले उनीहरु घरभित्रै सानो पिङ लगाइदिन झगडा गर्छन् । कसैको माग पूरा हुन्छ । कसैले भने घरभित्रै खेलिने पिङको समेत मज्जा लिन पाउँदैनन् ।

लिङ्गे पिङलाई चार दिशामा बाँस गाढेर, बाबियाबाट निर्मित लठारो प्रयोग गरी तयार गरिन्थ्यो र शिरमा सयपत्री, लालुपाते जस्ता फूलहरु राखेर सिँगारिँदा पिङ चिटिक्क परेकी बेहुलीजस्तै देखिने । बालबालिकादेखि वृद्धसम्म हरेक उमेरका मानिसहरुले पिङ खेल्ने चलन भए पनि युवा वर्गहरु पिङ खेल्नमा बढी नै उत्साहित हुन्थे ।

बसेर उठेर दुवै तरिकाले मच्चिँदै खेलिने लिङ्गे पिङमा युवायुवतीको दोहोरी नै चल्थ्यो । ‘कसले बढी मच्चिन सक्ने ?’, ‘कसले लिङ्गो कटाउने ?’ भनेर । जसले सक्यो ऊ नै त्यहाँको ‘हिरो’ । रोटे पिङ बनाउन जनशक्ति र खर्च बढी नै लाग्ने भएकाले कमै मात्र बनाइन्थ्यो । काठ, डोरी जस्ता स्थानीय वस्तुहरु प्रयोग गरेर बनाइने रोटे पिङ बनाइन्थ्यो ।

एकैसाथ धेरै जनाले खेल्न पाउने गरेर रोटे पिङ्ग बनाइन्थ्यो । ‘पिङ खेल्नकै लागि घण्टौंसम्म लाइन बस्ने, तछाडमछाड गर्दै आफ्नो पालो कुर्ने, कसले धेरै उचाइसम्म मच्चिन सक्छ भन्ने होडबाजी । यो सबै एकादेशको कथाजस्तै भइसक्यो,’ स्थानिय रमेश पौडेलले भने, ‘अहिले समयसँगै दशैं पनि बदलिएको छ ।’

प्रविधिको विकास भएसँगै मनोरञ्जनका अन्य साधनहरु प्रशस्तै आएकाले पनि यस्ता पिङतर्फ आकर्षण घटेको उहाँको बुझाई छ । रोजगारका लागि युवाहरु विदेशिएका कारण पिङ थाप्ने जनशक्ति नै गाउँमा छैन । ‘रोटे र लिङ्गे पिङ बनाउन खुला ठाउँ चाहिन्छ, तर न हामीसँग छेलोखेलो जमिन छ न त समय नै,’ उनले भने ।

पिङ बनाउनलाई आवश्यक बाँस, काठ आदि सामाग्रीहरु पनि उपलब्ध नहुने भएकाले पनि रोटे र लिङ्गे बन्न छाडेको उनको भनाई छ । बढ्दो शहरीकरण र आधुनिकताका कारण पिङ बनाउनलाई आवश्यक खाली जमिन, पर्याप्त समय र आवश्यक स्रोत साधनको अभाव भएकाले पनि दशैंमा लिङ्गे पिङ खेल्ने कल्चर मासिँदै गएको उनले बताए ।

‘ग्रामीण भेगमा मानिसहरुको बसोबास पातलिएको छ । गाउँ सुनसान छन् । गाउँका सक्रिय जनशक्ति नै विदेश पलायन भएपछि पिङ लगाउने को ? अनि खेल्ने को ? वर्षमा एकदिन जमिन छोड्नुपर्छ भन्दै ‘पिङ’को उडान भर्ने युवाहरु रोजगारीका एकाएक ‘हवाइजहाज’को उडान भर्न थालेपछि पिङ एक्लिएको हो । विस्थापित भएको हो,’ उनले भने ।

त्यसो त प्रविधिले मनोरञ्जनका विभिन्न साधन र माध्यम विकास गरिदिएकाले पनि पिङ खेलेर मनोरञ्जन लिनु त्यति खास लाग्दैन मान्छेहरुलाई ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News