पर्वतको कुश्मा नगरपालिका-७ र ८ को सिमाना तमादीखोलामा बाढीमा बगेर बेपत्ता भएको जीप ३०० मिटर तल मोदी किनारमा फेला परेको छ । जीपसँगै बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव पनि भेटिएको छ । दुई जना अझै बेपत्ता छन् । शनिबार साँझ बागलुङदेखि पोखराका लागि छुटेको ग१ज ६३१३ नम्बरको टाटा सुमो जीप बाढीले बगाएर बेपत्ता पारेको थियो । बेपत्तामध्ये बिहान उछिट्टिएको अवस्थामा एक जनाको शव फेला परेको पर्वत प्रहरी प्रमुख डिएसपी खुमलाल भुसालले जानकारी दिए । उनी तिलोत्तमा नगरपालिका वडानम्बर ९ निवासी गोपालप्रसाद बस्याल रहेको भुसालले बताए ।