बिपदमा नागरिकको साथमा सदैव सरकार छः मुख्यमन्त्री पाण्डे

बिपदमा नागरिकको साथमा सदैव सरकार छः मुख्यमन्त्री पाण्डे

  • Kanchan News

  • आइतवार, भदौ ३, २०८०

  • 133
    SHARES
बिपदमा नागरिकको साथमा सदैव सरकार छः मुख्यमन्त्री पाण्डे

पोखरा । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बिपदमा नागरिकको साथमा सरकार रहेको बताएका छन् । संसदमा बिपद्सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘कोही पनि जनताले सरकारविहीन भएको महसुस गर्ने छैनन् । हरबिपद्मा सरकार साथमै रहनेछ ।’ उनले गण्डकीको भू–बनोट नै बाढीपहिरोबाट प्रभावित हुने खालको रहेकोले यस्ता घटनाहरुको सामना निरन्तर गरिरहनुपर्ने बताए । बिपद्को पूर्व तयारीमा सरकार रहेको समेत उनको भनाइ छ । मुख्यमन्त्रीले बिपद्को अवस्था आउन नदिन पनि सचेत हुने र भैसकेपछि कोही पनि जनताले एक्लो महसुस गर्नुपर्ने अवस्था आउन नदिने बताए । ‘मलाई केही साथीहरुले सल्लाह दिनुभयो, कागबेनीमा यत्रो घटना भयो जानु भएन भनेर । मैले हेलिकोप्टरको मूल्य बुझें, १ लाख ४० हजार खर्च हुने रहेछ,’ उनले भने, ‘म त्यत्रो भाडा तिरेर हेर्न जाउँ कि सामान पठाउने ? मैले सामान पठाएँ ।’ ‘समयमै उद्धार र राहतका लागि १० करोडको बिपद् उद्धार कोषको व्यवस्था गरेका छौं । ११ वटै जिल्लामा १० लाख नघट्ने गरेर जिल्ला बिपद् कोष खडा गरेका छौं,’ उनले भने, ‘माननीयज्यूहरुले भनेजस्तो असंवेदनशील छैन । माननीयज्यूहरु हाम्रो काममा अनविज्ञ हुनुहुन्छ ।’ अहिलेसम्म गण्डकीमा बाढीबाट कुनै मानवीय क्षति नभएको पाण्डेले जानकारी गराए । कागबेनी अहिले सामान्य अवस्थामा गइसकेको उनले बताए । ‘खानेपानीको समस्या थियो । पानी वितरण भैसकेको छ । विजुलीको पोल गाड्ने काम भैरहेको छ,’ उनले भने, ‘पुल बगाएर उत्तरी मुस्ताङ जान अवरुद्ध भएकोमा अहिले गाडी चल्न थालिसकेको छ ।’ ११ वटै जिल्लामा बिपद्् कोषबाट अपुग भए पुनः थप गरिने उनले बताए। प्रस्तावक रोशन गाहा थापाले बाढीपीडित नागरिकलाई राहत र क्षतिपूर्तिमा सरकार उदासीन रहेको गुनासो गरे । ‘बाढीपहिरोले मुस्ताङमा बबण्डर गरेको छ । ११ वटै जिल्ला प्रभावित भएको छ । त्यहाँको भौतिक संरचना कति नोक्सान भयो ? यसको विवरण चाहियो । म सरकारसँग माग गर्दछु,’ उनले भने । सरकारलाई जनताप्रति जिम्मेवार रहन र पीडित परिवारलाई राहत उपलब्ध गराउन माग गरे । मित्रलाल बस्यालले सरकारले आश्वासन मात्रै दिने तर व्यवहारमा कुनै काम नगरेको आरोप लगाए । उनले मनसुनका कारण धेरै क्षतिबारे सांसदहरुले संसदमार्फत जानकारी गराए पनि कुनै कदम नचालेको गुनासो गरे । ‘छलफलका लागि छलफल नहोस् । जनताले राहत पाउँदैनन्, परिणाम दिँदैन भने यो छलफल आवश्यक छैन,’ उनले भने, ‘जनताका विषयहरु हामीले उठाएका छौं । सरकारले तुरुन्त टोली खटाएर राहत दियोस् ।’ निर्मला थापाले मनसुनी क्षति बढ्नेक्रम रहेकोले क्षति न्यूनीकरणमा सरकारको ध्यानाकर्षण गराइन् । दोर्णकुमार कुँवरले बाढीबाट प्रभावित हुने क्षेत्रहरुमा उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । विचार बाँडेर मात्रै क्षति न्यूनीकरण नहुने भन्दै स्थलगतरुपमा काम आवश्यक रहेको तर्क गरे । छलफलमा श्यामराजा महत, दमयन्ती रुचाल, विन्दु पौडेल, प्रकाश बराल लगायतले विचार राखेका थिए ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News