
पोखरामा ५ दिनपछि फोहोर उठ्न थालेको छ । गत बुधबारदेखि नउठेको फोहोर आइतबार बिहानदेखि उठन् थालेको छ । बजारका सडक छेउमा थुप्रिएको फोहोर वर्षातले तिरबित गरेको थियो । सामाजिक सञ्जालमा चर्को विरोधपछि आइतबारदेखि फोहोर उठ्न थालेको हो ।
तर, फोहोर कहाँ फाल्ने भन्ने टुंगो लागिसकेको छैन । कहाँ फाल्ने भन्ने टुंगो नलाग्दासम्म फोहोर गाडीमै राखिने महानगरपालिकाले जनाएको छ । महानगरपालिकाकी सरसफाई शाखा प्रमुख कल्पना बरालले फोहोर फाल्ने विकल्पका लागि छलफल भइरहेको बताइन् । ‘आइतबारदेखि थुप्रिएको फोहोर उठाउन थालेका छौं । फोहोर फाल्ने गरी छलफल गरिरहेका छौं । टुंगो नलाग्दासम्म फोहोर गाडीमै राख्छौं,’ उनले भने ।
अस्थायी ल्याण्डफिलका रुपमा महानगरपालिका वडा नम्बर ३२ को लामेआहाललाई बनाउने गरी छलफलमा रहेको सरसफाई शाखा प्रमुख बरालले सुनाईन् ।
महानगरले सम्झौताअनुसार फोहोर व्यवस्थापन नगरेको भन्दै लामेआहालमा स्थानीयले फोहोर फाल्न रोक लगाएका थिए । लामेआहालस्थित सेती नदी किनारमा रहेको अस्थायी ल्यान्डफिल साइटमा महानगरले पुस दोस्रो सातादेखि फोहोरमैला व्यवस्थापन गर्दै आएको छ ।