
मुक्ति तिवारी नवलपरासी । सुस्ताको नेपाली भू–भाग गुगल म्यापले भारतमा देखाइदिँदा सुस्ताबासी थप समस्यामा परेका छन् ।
सुस्ताको वडा नम्बर ३ का केही भूभाग,नारायणी पारीको सुस्ताका केही भाग र वडा नम्बर ४ को अधिकांश भूभाग गुगल नक्सामा भारतको बिहारमा देखिएको भन्दै बैङ्कहरूले कर्जा प्रवाह नगरेका हुन् ।
गुगल नक्सामा भारतमा देखाएको जमिनको राजश्व बुझ्ने, किनबेच गर्ने काम भने भइरहेको छ । तर कर्जा प्रवाहका क्रममा गर्नुपर्ने धितो मूल्याङ्कन गर्न स्थानीय तहका कर्मचारीहरू जान मान्दैनन् भने बैङ्कहरूलाई पनि माथिल्लो तह बाट कर्जा प्रवाह नगर्नु भन्ने निर्देशन भएको बैङ्कहरूको घुमाउरो जवाफ रहेको छ।भूमि भारतमा देखिएकाले लगानी गर्न नसकिने जवाफ बैङ्कहरूले दिने गरेको सुस्ता १ का नारायण थारुको भनाई छ। ‘राजस्व चल्छ ,किनबेच चल्छ तर बैंकले कर्जा दिँदैन यो भन्दा अन्याय के हुन सक्छ’ उहाँको भनाई छ।
राज्यबाट आएको अनुदान वा सहुलियत पूर्ण ॠण केही सीमित व्यक्तिहरूको व्यवसाय हेरेर लगानी गरिए पनी भूमि गुगल म्यापमा देखाउँदा कर्जा प्रवाह गर्न समस्या देखिएको एनएमबी बैङ्क सुस्ता शाखाका ॠण अधिकृत रामानन्द साहु बताउनु हुन्छ ।
पीडित स्थानीयहरूले पटक पटक यस विषयमा बैंकिङ नियमावली संशोधन गर्नु पर्ने,सीमा क्षेत्रबाट तीन किलोमिटर सम्ममा उद्योगी व्यवसायीलाई कर्जा प्रवाहको वातावरण मिलाइदिनु पर्ने मागसहित प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै आएका छन् । तर हालसम्म पनि सुस्तावासीको मागको सुनुवाई भएको छैन। बैङ्क तथा वित्तीय सस्थाहरुले धितो मूल्याङ्कन गरि कर्जा प्रवाह नगरिदिँदा सुस्ता बासी साहु महाजन र मिटरब्याजी साहुहरू सँग जान बाध्य छन् ।मिटर ब्याजका कारण कयौँ घरबार विहीन समेत बनेका छन् ।
बैंकले ऋण नदिँदा कृषि र अन्य व्यवसाय गर्ने किसान,व्यवसायी निकै मर्कामा परेकाले सरकारले दीर्घकालीन रुपमा समस्या समाधान गरी सुस्तावासीलाई राहत दिनुपर्ने बताउनु हुन्छ सुस्ताका समाजसेवी रबिन्द्र जैसवाल । ‘एक त भूमि भारतमा देखिएको छ अर्को ऋणदेखि सीमा विवाद सारा समस्या सुस्तामा छ राज्यले निकै पीडित बनायो’, जैसवालको भनाई छ।
सुस्तामा सामान्य जीविकोपार्जन गर्दै आएका नागरिकहरूको पहुँचमा अझै पनि बैङ्क तथा वित्तीय सस्थाहरु पुग्न सकेका छैनन् ।कर्जा प्रवाह नहुँदा कुनै व्यवसाय गरेर जीवनस्तर उकास्न मात्रै उच्च शिक्षा हासिल गर्न चाहने बिद्यार्थीहरु समेत ॠण नपाउँदा अध्ययनलाई निरन्तरता दिन नसकेको स्थानीयको गुनासो छ ।
यता सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनारायण उपाध्यायले भने यस विषयमा बैंकहरुसग निरन्तर छलफल भइरहेको र समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । सीमा विवाद,अतिक्रमणबाट सधैँ सास्ती खेपेका सुस्तावासीलाई यो समस्याले थप पीडा दिएको छ। कुटनैतिकरुपमा पहल भई फिल्ड प्रमाणीकरण हुनु पर्ने र गुगल म्याप सच्याउनुपर्ने सुस्तावासीको माग रहेको छ।