
नेपाली कांग्रेस निटकको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेको छ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा नेविसङ्घले प्रधानमन्त्रीले सुशासन र भ्रष्टाचारविरुद्ध चालेको कदमको प्रशंसा गर्दै सरकारको भ्रष्टाचार विरोधी अभियानमा साथ रहेको बताएको छ। साथै नेविसङ्घले प्रधानमन्त्रीसँग विभिन्न माग राखेको छ।
सङ्गठनको तर्फबाट आफ्ना माग प्रस्तुत गर्दै नेविसङ्घ अध्यक्ष दुजाङ शेर्पाले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति, नास्टको उपकुलपति नियुक्तिका साथै शैक्षिक सुधारका निम्ति राज्यले नीति अवलम्बन गर्नुपर्ने भन्दै विभिन्न माग राखे।
सो क्रममा प्रधानमन्त्री ले त्रिवि सेवा आयोगको अध्यक्ष छिट्टै नियुक्त हुने बताए। साथै शैक्षिक क्षेत्रको सुधार र विश्वविद्यालयलाई अविष्कार तथा अनुसन्धानको केन्द्रका रुपमा विकास गर्ने कुरा नीति तथा कार्यक्रममा समावेश गरिएको र आवश्यक बजेट व्यवस्था गर्ने कोशिस भइराखेको उनले बताए।