पोखरा
गण्डकी प्रदेशको राजधानी पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरु भेला हुने भएका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको बिशेष अगुवाइमा भोली बुधबार सातै प्रदेशका मुख्यमन्त्री र प्रमुख सचिवहरू पोखरामा भेला हुने भएका हुन् । सातै प्रदेशका मुख्यमन्त्रीहरुको सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्ले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रदेशको अधिकार, प्रदेशले गरेका काम तथा प्रदेशका अनुभव साटफेर गर्ने र सबै प्रदेशको साझा धारणा बनाउन सम्मेलन आयोजना गरिएको हो । मुख्यमन्त्री सम्मेलनमा प्रदेशले गरेका उपलब्धि र अधिकारका विषयमा दफाबार छलफल हुनेछ र घोषणा पत्र जारी हुनेछ । सम्मेलनमा संघले दिएको अधिकार र संविधानमा निर्दिष्ट भएका अधिकार प्राप्तीका विषयमा पनि छलफल हुने सरकारका प्रवक्ता ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले जानकारी दिनुभयो ।
प्रदेशका अधिकार प्रयोग गर्न कहाँनेर समस्या भएको छ भन्ने देखि संघीयता कार्यान्वयन र अधिकारका सवालमा छलफल हुने छ । प्रदेशले माग्नुपर्ने, पाउनुपर्ने के–के अधिकार छ, एकीकृत विकास मोडललाई कसरी अघि लैजाने ? कानुनमा देखिएको विविधता लगाएतको बिषयमा हुन लागेको मुख्यमन्त्री सम्मेलनले ‘राज्य सञ्चालनका लागि एकै प्रकारको कानुन बनोस भन्ने उद्देश्य राखेको छ । प्रदेश सरकारका प्रमुख सचिवको समेत उपस्थिती हुने उक्त भेलाले प्रदेशलाई अधिकार सम्पन्न गरी संघीयतालाई बलियो बनाउन छलफल गरी निष्कर्ष निकाल्ने छ ।