जुत्ता चप्पल व्यापार मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु, सरकारले निजी क्षेत्रसँग सहकार्य गर्छ’:श्रेष्ठ

जुत्ता चप्पल व्यापार मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु, सरकारले निजी क्षेत्रसँग सहकार्य गर्छ’:श्रेष्ठ

  • Kanchan News

  • सोमवार, भदौ ६, २०७९

  • 82
    SHARES
जुत्ता चप्पल व्यापार मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु, सरकारले निजी क्षेत्रसँग सहकार्य गर्छ’:श्रेष्ठ

फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा जुत्ता चप्पलको पाचौं दशैँ व्यापार प्रवद्र्धन मेला काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ । उद्योग र ग्राहकबीच प्रत्यक्ष रुपमा व्यापार गर्ने उदेश्यले दशैँ जुत्ता चप्पल व्यापार मेला भदौ ५ देखि २० गतेसम्म सञ्चालनमा आउने गरी शुरु गरिएको आयोजकले जनाएको छ ।जुत्ता चप्पल व्यापार मेलाका संयोजक तथा फुटवयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका उपाध्यक्ष सुरज बञ्जाडेले वार्षिक क्यालेण्डर अनुसार चालु आर्थिक वर्षको पहिलो मेला आयोजना गरिएको बताए । उनले मेलामा १ हजार भन्दा बढी किसिमका उत्पादनहरुको स्टल रहेको बताए । बञ्जाडेले मेलामा ग्राहकहरुले जुत्ता चप्पल किन्न आउँदा सस्तो र गुणस्तरीय भारी छुटका साथ पाउनसक्ने बताए । उनले मेलामा सबै महिला,बालबालिका, पुरुष,कार्यालय प्रयोजनको लागि समेत जुत्ता चप्पलहरू पाउने बताए । बञ्जाडेले पछिल्लो समय नेपाली जुत्ता चप्पलको उत्पादनले उपभोक्ताको मन जित्न सफल भएको बताए ।

त्यस्तै मेला उद्घाटन प्रश्चात कार्यक्रममा बोल्दै वागमती प्रदेश सरकारका वाणिज्य तथा आपूर्ति मन्त्री मिलनबाबु श्रेष्ठले विदेशी ब्राण्ड भन्ने बित्तिकै जुत्ता र कपडा किन्ने तर नेपाली ब्राण्ड भनेपछि ओठ खुम्च्याउने सोच नेपालीहरुले परिर्वतन गर्नु जरुरी रहेको बताए । नेपाली उत्पादनलाई सबैले प्रयोग गर्नु आवश्यक रहेको बताए ।

मन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्ने बताए ।

मुलुकमा औद्योगिक वातावरण जबसम्म निर्माण हुँदैन, तबसम्म देशको विकास हुन सक्दैन’, उनले भने । प्रदेश सरकार उद्योगको विकासका लागि सधैँ अगाडि बढ्ने उनको भनाइ छ । उनले प्रदेश सरकारले कृषि औजार कार्यक्रमलाई पनि प्राथमिकता दिएको बताए ।

उनले औद्योगिक क्षेत्रका लागि आवश्यक जनशक्ति निर्माण गर्न प्रदेश सरकारले सहयोगी भूमिका खेल्ने स्पष्ट पारे । मन्त्री श्रेष्ठले घरेलु तथा साना उद्योग विकास समिति प्रदेशका सबै जिल्लामा रहेको बताउँदै उक्त कार्यालयमार्फत औद्योगिक गतिविधि भइरहेको उल्लेख गरे । उत्पादनमुखी उद्योगलाई प्रोत्साहन गर्ने उनको भनाइ छ ।

फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले स्वदेशमा उत्पादित जुत्ताचप्पल, छालाका वस्तु तथा सामग्री प्रदर्शन गर्ने उद्देश्यले जुत्ताचप्पल मेला आयोजना गरिएको जानकारी दिए । मेलाले एक अर्का उद्यमीबीच स्वच्छ र स्वस्थ प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरी उत्पादनको गुणस्तर तथा डिजाइनमा सुधार ल्याउने वातावरण निर्माण गर्ने उनको भनाइ छ ।

कार्यक्रमा बोल्दै उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले नेपाल सरकारले तयार वस्तुको भन्दा कच्चा पदार्थको कर कम लगाउने नीति बनाएर नेपालमा धेरै उद्योग आउने बताए । उनले सरकारले उद्योगको प्रोत्साहन गर्ने कुरा मुखले नभएर कामले गरेर देखाउनपर्ने बताए ।

मेलाका संयोजक सुरज बन्जाडेले आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गरिएको बताए । उनले कोरोना महामारीका कारण धराशयी बनेको नेपाली जुत्ताचप्पल उद्योगको विकासका लागि मेलाबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

मेलामा ग्राहकले १५ देखि ५० प्रतिशतसम्म छुट सुविधा र विभिन्न अफर पाउनेछन् । तीसभन्दा धेरै ब्राण्डका करिव हजार मोडलका जुत्ता चप्पल राखिएका छन् । स्वदेशी उत्पादनलाई प्राथमिकता दिएको छ । मेला भदौ २० गतेसम्म चल्नेछ ।

 

 


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News