तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने काँग्रेसको निर्णय

तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने काँग्रेसको निर्णय

  • Kanchan News

  • आइतवार, भदौ ५, २०७९

  • 61
    SHARES
तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टी कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले काँग्रेस नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप गिरीको निधन प्रति शोक प्रस्ताव पारित गर्दै आज, भोलि र पर्सी पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

यस्तै बैठकले शोक श्रद्धाञ्जलीका कार्यक्रम बाहेक पार्टीका अरू सबै कार्यक्रम स्थगित गर्ने र भोलि केन्द्र तथा मातहतका सबै कार्यालयहरू बन्द गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले गिरीको १३ औँ दिनको पुण्य तिथिसम्म केन्द्र र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र सो दिन सबै जिल्लामा शोक सभाको आयोजना गर्ने निर्णय समेत गरेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनुभयो ।

काँग्रेसले आजको केन्द्रीय कार्यसमितिको बैठकपछि विज्ञप्ति जारी गर्दै गिरी  समकालीन नेपाली राजनीतिका वैचारिक ज्ञान पुञ्ज, समाजवादी चिन्तक, लेखक, नेपाली कांग्रेसका निष्ठावान् त्यागी नेता र बहुआयामिक व्यक्तित्व भएको उल्लेख गरेको छ ।

काँग्रेसले गिरीलाई महान् दार्शनिक नेता भन्दै उहाँको निधनले नेपाली लोकतान्त्रिक आन्दोलन, नेपाली कांग्रेस, सिङ्गो संसदीय अभ्यास र मुलुकलाई ठूलो क्षति पुगेको  बताएको छ ।

पिता मित्रलाल गिरी र माता पुण्यप्रभा गिरीको कोखबाट वि.सं. २००४ साल असोज २४ गते गोवर्धन पूजाका दिन सिरहा जिल्लाको वस्तिपुरमा जन्मनु भएका गिरीले भारतको जवाहरलाल नेहरु विश्व विद्यालयबाट अर्थशास्त्र र दर्शनशास्त्रमा स्नातकोत्तर गर्नुभएको थियो ।

गिरीलाई समकालीन प्रजातान्त्रिक समाजवादी नेताहरूसँग उच्च तहको मित्रवत् सम्बन्ध एवं नेपाल—भारत सम्बन्धमा गहिरो प्रभाव राख्ने एक सरल जीवनशैलीका गान्धीवादी नेताका रुपमा चिनिन्छ ।

राजनैतिक विचारमा लोकतन्त्र र आर्थिक नीतिमा समाजवादको व्यवहारिक व्याख्या गर्ने गिरी किसान, मजदुर एवं विपन्न परिवारलाई विकासको केन्द्रविन्दूमा राख्ने र नेपाली काँग्रेसलाई थप समावेशी र सबल बनाउन  क्रियाशील रहनुभएको काँग्रेसले जनाएको छ ।

नेपालमा राजनैतिक दलहरू प्रतिबन्धित भएको समयमा गिरी बनारसबाट नेपाली कांग्रेस पार्टीमा आबद्ध भई पार्टी सङ्गठनका माध्यमबाट बहुदलीय व्यवस्थाका पक्षमा वैचारिक वकालत गर्दै निरङ्कुश पञ्चायतका विरुद्ध निरन्तर सङ्घर्षरत रहनु भयो ।

सबै किसिमका निरङ्कुशता विरुद्ध प्रखर वैचारिक सङ्घर्षमा होमिएका गिरी पटक–पटकका लोकतान्त्रिक आन्दोलनहरूमा वैचारिक र साङ्गठनिक अग्रणी भूमिका निभाउने क्रममा पटक–पटक जेल र निर्वासनमा रहनु भयो ।

लामो समयदेखि घाँटीको क्यान्सरबाट पीडित ७५ वर्षीय गिरीको गएराति निधन भएको थियो ।

गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पणका लागि अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको छ । गिरी प्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू उच्च पदस्थ व्यक्ति एवं विभिन्न दलका शीर्ष नेताहरू सानेपा पुग्ने क्रम जारी छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने काँग्रेसले जनाएको छ ।


सम्बन्धित समाचार

© copyright 2024 and all right reserved to Kanchan News