
नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । शनिबार साँझ ९ः३० बजे गिरिको निधन भएको हो ।
भारतको मुम्बईमा क्यान्सरको उपचार गरेर फर्किएका गिरिको स्वास्थ्यमा समस्या देखिएपछि साउन दोस्रो साता मेडिसिटी अस्पताल, नख्खुमा भर्ना भएका थिए । पछिल्ला घण्टाहरुमा निमोनिया फैलिंदै गएर शरीरका अंगहरुले काम गर्न छाड्दै गएको थियो ।शनिबार साँझ ९ः३० बजे निधन भएको कांग्रेस संसदीय दलले वक्तव्य जारी गर्दै जानकारी दिएको छ ।
गिरिको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आइतबार मेडिसिटी अस्पतालपछि पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयले गिरिको निधनप्रति शोक वक्तव्य जारी गर्दै आज दिउँसो २ बजेसम्म श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको हो ।
मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा बिहान ९ बजेदेखि ११ बजेसम्म र त्यसपछि साढे ११ बजेदेखि २ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा उनको शव राखिनेछ ।
पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि गिरिको आजै दिउँसो पशुपतिमा अन्त्येष्टि गरिने मुख्य सचिव पौडेलले जानकारी दिए ।