आउनै छाड्यो मुस्ताङमा जहाज

आउनै छाड्यो मुस्ताङमा जहाज

  • Kanchan News

  • सोमवार, साउन २, २०७९

  • 71
    SHARES
आउनै छाड्यो मुस्ताङमा जहाज

मुस्ताङमा जहाज आउन छाडेको छ। गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको ट्विनेटर जहाज मुस्ताङको मानीपाथी हिमालको सानुसरे पहाडमा दुर्घटना भएपछि त्यसपछिका दिनमा मुस्ताङमा हवाई सेवा नियमित हुन छाडेको हो।

बर्सेनि सिजनेबल समय पोखरा–जोमसोम दैनिक १५ देखि १८ वटासम्म हवाई उडान हुने गर्थ्यो। अफ सिजनमा पनि दैनिक १/२ वटा हवाई उडान नियमित हुने गर्थ्यो। तर तारा एअरको जहाज दुर्घटनापछि भने पोखरा–जोमसोम हवाई सेवा नियमित हुन छोडेको मुस्ताङका पर्यटन व्यवसायीहरु बताउँछन्।

तारा एअरको जहाज मुस्ताङ दुर्घटना भएपछि जेठ १५ गतेबाट असार मसान्तसम्म जम्मा ९ वटामात्र हवाई उडान भएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले जानकारी दिए। उनकाअनुसार पोखरा–जोमसोम हवाई उडानका लागि सुमित एअरले जेठ २१ गते ५ उडान र असार ७ गते ४ वटा उडान मात्र गरेको हो। योसँगै जहाज दुर्घटनापछि सुमित एअरले जम्मा ९ वटामात्र उडान गरेको छ भने तारा एअरलाइन्सको पोखरा–जोमसोम उडानको सेड्युल नरहेको कार्यालय प्रमुख शर्माले बताए।

त्यसो त पोखरा–जोमसोम हवाइ उडान प्रतिकूल मौसम र पर्यटकको मुमेन्ट कम भएकै कारण मुस्ताङमा जहाज आउन नसकेको जोमसोम नागरिक उड्यन कार्यालयले जनाएको छ। मनसुन सुरु भएसँगै पोखरा–जोमसोमबीचको क्षेत्रमा मौसम खराबी हुने र मुस्ताङ आउने पर्यटकमा कमी आएकाले सुमितको जहाज आउन नसकेको कार्यालय प्रमुख शर्माको भनाइ छ।

सुमित एअरलाइन्सले जुलाईपछि हवाई सेवा संञ्चालन गर्ने अनौपचारिक जानकारी दिएको उनले बताए। ‘मौसम राम्रो हुँदा यात्रु हुँदैनन्,’ उनले भने, ‘यात्रु हुँदा मौसम प्रतिकल हुन्छ, यसैले पनि जहाज आउन नसकेको होला।’

बर्सेनि ६० हजार विदेशी पर्यटक आउने हिमालपारिको जिल्ला मुस्ताङमा असोजदेखि मंसिरसम्म र चैतदेखि जेठसम्म उल्लेख्य रुपमा विदेशी पर्यटक आउने गर्छन्। पोखरा–जोमसोम हवाइ उडानका लागि यसअघि तारा एअरले नियमित हवाई उडान भर्ने गर्थ्यो। तर जहाज दुर्घटनापछि तारा एअरको मुस्ताङका लागि कुनै कार्यक्रम नरहेको जनाइएको छ। यसका अलावा हवाइ यात्रुको फलो बढेको बेला सुमितले पोखरा–जोमसोम हवाई उडान गर्ने गरेको थियो।

नेपाल वायुसेवा निगमले झन्डै ६ वर्षअघि पोखरा–जोमसोम हप्तामा २ दिन उडान भर्ने गरेकोमा वायुसेवा निगमको जहाजले त्यसयता कुनै उडान गर्न सकेको छैन। नेपाल वायुसेवा निगमको जोमसोममा कार्यालय र कर्मचारी रहे पनि लामो समयदेखि पोखरा–जोमसोम हवाई उडान हुन नसकेको हो।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News