गण्डकीको बजेटः सांसदनिकट योजना देखि मुख्यमन्त्री–मन्त्रीका बुबाआमाकै नाममा बजेट सम्म

गण्डकीको बजेटः सांसदनिकट योजना देखि मुख्यमन्त्री–मन्त्रीका बुबाआमाकै नाममा बजेट सम्म

  • Kanchan News

  • सोमवार, असार २७, २०७९

  • 118
    SHARES
गण्डकीको बजेटः सांसदनिकट योजना देखि मुख्यमन्त्री–मन्त्रीका बुबाआमाकै नाममा बजेट सम्म

अधिकांश प्रदेशमा आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पारित भइसक्दा गण्डकीमा भने बजेटमाथिको छलफल बल्ल सुरु भएको छ । अर्थमन्त्री रामजीप्रसाद बरालले असार १ मा प्रदेश सभा बैठकमा ३५ अर्बको बजेट प्रस्तुत गरेका थिए । उक्त बजेटमा सत्तारुढ गठबन्धनकै मन्त्री तथा सांसदले असन्तुष्टि व्यक्त गरेपछि छलफल हुन सकेको थिएन ।

लगातार तीन वर्षसम्म समेटिएको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम बजेट वक्तव्यमा समेटिएन, जसका कारण सांसदले पाउँदै आएको ७२ करोड रुपैयाँ नपाउने भएपछि सत्तारुढ दलकै मन्त्री र सांसद असन्तुष्ट थिए । प्रस्तुत भएको बजेटमा विवाद उत्पन्न भएपछि सरकारले २० दिनसम्म संसद चलाउन सकेन । विवाद चुलिँदै गठबन्धनका शीर्ष नेतासम्म पुगेपछि भने मिलेर जान दबाब परेको थियो, जसका कारण निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमलाई शीर्षक फेरेर समेट्ने र मन्त्रीका छुटेका अन्य योजना पनि बजेटमा समावेश गर्ने भएपछि असार २० देखि बजेटमाथि छलफल सुरु गरिएको थियो ।

गठबन्धन दलबीच सहमति भएपछि मन्त्री तथा गठबन्धनकै सांसद निकटका योजनाहरू समेटिएका छन् । पूर्वाधार निर्माण, खानेपानी, सिंचाइ, पार्क, पदमार्ग, सडक मर्मत तथा स्तरोन्नति, विभिन्न ट्रस्टहरूका पूर्वाधार निर्माण तथा मर्मत, कोषको स्थापना, तालिम, खेलमैदान लगायतका ९८ वटा योजनाका लागि थप स्रोतको सुनिश्चितता गरिएको छ । जसमा शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले बाबुआमाको नाममा खोलिएको पुननारायण धनकुमारी श्रेष्ठ परोपकारी कोषको लागि आफ्नै मन्त्रालयबाट कार्यान्वयन हुने गरी ५० लाख रुपैयाँ छुट्याएका छन् । यस्तै, सोही कोषको भवन निर्माणका लागि भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयबाट कार्यान्वयन गर्ने गरी थप ५० लाख रुपैयाँ विनियोजन गरेका छन् । यसैगरी, काँग्रेस नेता अर्जुन जोशीको कुश्मा नगरपालिका–८ मा पिताको नाममा खोलेको अमृत जोशी स्मृति पार्कका लागि २० लाख रुपैयाँको योजना समेटिएको छ ।

कुश्मा नगरपालिकाकै पूर्वउपप्रमुख सीता काफ्ले लामिछानेका श्रीमान् स्व.डिल्लीराम लामिछाने स्मृति प्रतिष्ठानको भवन निर्माणका लागि २० लाख रुपैयाँ समेटिएको छ । यसअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले तनहुँको व्यास नगरपालिका–१० मा पिता गोवर्द्धन पोखरेलको नाममा स्थापित गोवर्द्धन शर्मा स्मृति कोषको लागि ५० लाख रुपैयाँ रातो किताबमै समेटेका थिए । ट्रस्टको नाममा राखिएको बजेट व्यक्तिगत नहुने प्रतिक्रिया शिक्षामन्त्री श्रेष्ठले दिँदै आएका छन् । कांग्रेस नेता जोशीले पार्कमा भीड बढ्दै गएपछि व्यवस्थापन गर्न समस्या भएकाले सरकारले सहयोग गरेको जनाएका छन् । माग अनुसार नै प्रदेश सरकारले बजेट छुट्याएको उनको भनाइ छ ।

कुश्माको पार्कमा विगतका वर्षमा पनि संघ र स्थानीय सरकारबाट सहयोग प्राप्त भएको जोशीले जनाएका छन् । यस्तै, थप गरिएका योजना २८ करोड २७ लाख रुपैयाँका छन्, जसमा भौतिक पूर्वाधारमन्त्री कुमार खड्काले आफ्नो वडा पोखरा–१६ मा मात्रै ६ करोड ८ लाख रुपैयाँका योजना पारेका छन् । मन्त्री खड्काको वडामा बढी योजना परेको भन्दै यतिबेला प्रमुख प्रतिपक्षी दल एमालेले विरोध जनाएको छ ।

२० दिनसम्म संसद् बन्धक पार्ने, पुनः आफ्नो स्वार्थमा योजना पार्दै संसद् खुलाउने, मनपरी बजेट छुट्याउने, भौतिक पूर्वाधार मन्त्रीकै वडामा पालिकामा भन्दा बढी योजना पार्ने जस्ता आरोप लगाउँदै एमालेले शुक्रबार संसद्मा अवरोध गरेको छ । बैठक आइतबारसम्मलाई स्थगित गरिएको छ । एमालेले बजेटलाई लिएर कानुनी प्रश्न उठाएको छ । यसमा अर्थमन्त्रीको जवाफ नआउँदासम्म संसद चल्न नदिने चेतावनी एमालेको छ । एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले प्रतिपक्ष दललाई कमजोर मान्दै सरकारले मनमानी तरिकाले काम गरेको बताए । उनले आफूहरूलाई बजेट नपर्दा झगडा गर्दै संसद् बन्धक बनाउने र बजेट पाएपछि संसद् चलाउनेबाहेक सरकारले नयाँ काम गर्न नसकेको टिप्पणी गरे ।

गण्डकी प्रदेशका मुख्यमन्त्री, मन्त्री र नेताका बुबाआमाका स्मृतिमा स्थापित कोषलाई छुट्याइएको बजेट चौतर्फी आलोचनापछि फिर्ता हुने भएको छ । स्मृति कोष, पार्कलगायतमा छुट्याइएको बजेट ‘आम नागरिकको भावनालाई कदर गर्दै’ प्रदेशको प्राथमिकता क्षेत्रमा खर्च गर्ने व्यवस्था मिलाउन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको जनाइएको छ ।

 


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News