गण्डकी प्रदेश सभामा पुर्वमन्त्री विकास लम्सालले गरे सरकारको कडा आलोचना

गण्डकी प्रदेश सभामा पुर्वमन्त्री विकास लम्सालले गरे सरकारको कडा आलोचना

  • Kanchan News

  • मङ्लबार, असार २१, २०७९

  • 94
    SHARES
गण्डकी प्रदेश सभामा पुर्वमन्त्री विकास लम्सालले गरे सरकारको कडा आलोचना

गण्डकी प्रदेश सभामा एएमाले संसदीय दलका उपनेता किरण गुरूङले यातायातमा बढाइएको करप्रति आपत्ति जनाएका छन् । उनले कर बढाउने निर्णयमा बाहिरी व्यक्तिको हात त छैन भन्ने प्रश्न पनि गरेका छन् । ‘केन्द्रमा रघुनाथ घिमिरे गएर ७५० वटा करमा चलखेल गरेको कुरा आइरहेको छ । त्यसको जवाफ मुलुकले खोजिरहेको छ तर जवाफ पाइरहेको छैन,’ पूर्वअर्थमन्त्री गुरूङले भने, ‘सवारी कर बढाउन कतै रिटायर्ड सुब्बाहरूको हात छ कि ? मन्त्री महोदय यहाँ हुनुहुन्छ उहाँहरूकै हात छ कि ?’ उनी पूर्वअर्थमन्त्री हुन् ।

यता प्रदेश सभामा एमालेको तर्फबाट सांसद विकास लम्सालले वर्तमान गठबन्धनका नेताहरुलाई आउँदो चुनावमा जनताले ठेगान लगाउने जिकिर गरेका छन् । उनले अहिलेको गण्डकी सरकार नालायक भएको टिप्पणी पनि गरे । सोमबार संसदमा बोल्दै लम्सालले भने,‘मंसिरपछि यो सरकार सत्तामा आउनु नै छैन् । जनताले त यसलाई (गठबन्धन) जहाँ देख्यो, त्यहीँ ठेगान लगाउँछन् ।’

यत्तिकैमा सभामुख नेत्रनाथ अधिकारी भन्छन्, ‘माननीय सदस्य शब्द चाहिँ, अलि संसदीय अभ्यासको ख्याल गर्नुस् ।’ लम्सालले भने,‘सभामुख महोदय, अब धेरै संसदीय अभ्यासका कुरा नगरौं । योभन्दा बढी पराकाष्ठा के हुन्छ ? संसदीय अभ्यासमा त संसदको पनि त भूमिका हुन्छ होला नि ! सरकारलाई भन्न सकिन्छ होला नि । सरकारलाई माग गर्न सकिन्छ होला नि । सरकारले विजनेश दिने हो ।’

प्रदेश सरकारमा लथालिङ्ग, भताभुङ्ग बाहेक केही नदेखिएको र त्यसमा कुनै जवाफदेहीता नै नभएपछि सत्ता पक्षकै सांसदले बोल्ने आँट नगरेको उनको भनाइ थियो ।उनले अब ६ महिनाका लागि सरकारको विरोध गरेर नयाँ सरकार ल्याउनुको कुनै अर्थ नभएको तर यो सरकार जनताका लागि बोझ घाँडो भएको बताए । ‘६ महिना कुर्नु बाहेकको अरु विकल्प छैन् । आलोचना गर्नु बाहेकको विकल्प छैन् । योभन्दा अरु शब्द नै के हुन सक्छ,यो सरकारलाई ?’,उनले भने ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजी बरालबीचको विवादका कारण असार १ गते आएको बजेटमाथि सोमबारमात्रै छलफल थालिएको हो । अर्थमन्त्रीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम काटेको भन्दै सत्तापक्षका सांसदहरुले नै आपत्ति जनाएपछि सदन स्थगित भएको थियो । सांसदले २ करोड पाउने त्यो योजना सामेल गर्ने र काटिएका भनिएका सिलिङका योजनाहरु रुजु गर्ने भनेपछि मात्रै संसद सुचारु भएको हो । एमालेको तर्फबाट अर्का सांसद सांसद धनञ्जय दवाडीले अर्थमन्त्रीले ल्याएको योजनाले यो प्रदेशलाई झन गरिबीमा धकेल्ने काम भएको आरोप लगाए । चालु खर्चमा मात्रै ध्यान दिँदा विकास गर्न नसकिने उनको जिकिर थियो । उनले विकासमा अवरोध गर्नुभन्दा सरकार चलाउन सक्दिन भनेर छाडेको भए जनता खुसी हुने भन्दै वर्तमान सरकारमाथि व्यङ्ग्य कसे ।


सम्बन्धित समाचार

© copyright 2025 and all right reserved to Kanchan News